काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापासँग बिहीबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन्। छलफलपछि सभापति देउवाले पार्टीका शीर्ष नेताहरूलाई आज अपराह्न ४ बजे बुढानीलकण्ठमा बैठकका लागि बोलाएका छन्।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवा र थापा बीच समसामयिक राजनीति तथा पार्टीको आन्तरिक विषयमा कुराकानी भएको हो। मुख्यसचिव पौडेलले भने, “बिहान महामन्त्री थापासँग सभापति देउवाले छलफल गर्नुभयो। त्यसपछि अन्य शीर्ष नेताहरूलाई पनि छलफलका लागि बोलाइएको हो।”

advertisement

आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको कार्यसम्पादनको समीक्षा, पार्टीको आन्तरिक संरचना, भ्रातृसंस्थाहरूको अवस्था लगायतका विषयमा छलफल हुने बताइएको छ।

यसअघि, फागुन १ गते बसेको कांग्रेस पदाधिकारी बैठकले १० वटा भ्रातृसंस्थालाई गत चैत मसान्तसम्म महाधिवेशन सम्पन्न गर्न अन्तिम समयसीमा दिएको थियो। तर तीमध्ये सात संस्थाले अहिलेसम्म महाधिवेशन गर्न सकेका छैनन्।

एक पदाधिकारीका अनुसार बैठकमा चार भ्रातृसंस्थाको तदर्थ समिति खारेज गर्ने र बाँकी तीनलाई महाधिवेशनका लागि अन्तिम अवसर दिने तयारी भएको छ। साथै, केन्द्रीय समिति वा कार्यसम्पादन समिति बैठक बोलाउने विषयमा पनि निर्णय हुने सम्भावना छ।

आज अपराह्नको छलफल कांग्रेसभित्रको आन्तरिक व्यवस्थापन र हालको राजनीतिक परिस्थितिमा पार्टीको धारणा निर्माण गर्नका लागि महत्वपूर्ण मानिएको छ।

प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com