काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नाममा सार्वजनिक भएको राजसंस्थासम्बन्धी धारणा भ्रामक र कपोलकल्पित भएको भन्दै आपत्ति जनाएको छ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै देउवाको भनाइ भन्दै सञ्चारमाध्यममा प्रचार गरिएको समाचारप्रति खण्डन गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, “ऐतिहासिक जनआन्दोलन २०६२/६३ मा जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रको संविधानको संरक्षण र संवद्र्धनमा सभापति देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ।”
कांग्रेसले देउवाले कहीँ कतै नगरेको, नबोलेको र नसोचेको कुरा जबरजस्ती जोडेर प्रचार गर्नु अनैतिक र आपत्तिजनक भएको जनाएको छ।
“यस्ता मनगढन्ते, भ्रामक र कपोलकल्पित समाचारहरू पत्रकारिता मर्मविपरीत छन्,” विज्ञप्तिमा उल्लेख गरिएको छ, “जो–सुकैले यस्ता कार्य गरे पनि नेपाली कांग्रेस त्यसको घोर निन्दा र भर्त्सना गर्छ।”
कांग्रेसले लोकतन्त्र, गणतन्त्र र संविधानका मूल्य र उपलब्धिहरूको रक्षा गर्न पार्टी प्रतिबद्ध रहेको दोहोर्याउँदै, यस्ता भ्रामक समाचारप्रति विश्वास नगर्न आम नागरिकलाई आग्रह गरेको छ।
प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया