काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजसंस्थाप्रति समर्थन जनाएको भनी प्रकाशित समाचारप्रति खण्डन गरेको छ।
पार्टीले बिहीबार विज्ञप्ति जारी गर्दै देउवालाई जोडेर “हृदयेन्द्र वीरविक्रम शाह राजा बनेमा समर्थन रहने” भन्ने आशयका समाचारहरू पूर्णतः भ्रामक र निराधार रहेको स्पष्ट पारेको हो। कांग्रेसले सभापति देउवा लोकतान्त्रिक गणतन्त्रप्रति दृढ प्रतिबद्ध रहेको उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “राजसंस्थाबारे उहाँको भनाइ भनेर केही सञ्चारमाध्यममा फैलाइएको गलत सूचना पूर्णरूपमा मनगढन्ते र भ्रामक छ। कतिपयले व्यक्तिगत स्वार्थ पूर्तिको निम्ति उहाँले नबोलेको, नभनेको र नसोचेको कुरालाई गलत ढंगले प्रचार गर्नु गम्भीर आपत्तिजनक कार्य हो। यस्तो कार्य पत्रकारिताको धर्म र आचारसंहिताविपरीत छ।”
कांग्रेसले यस्ता कपोलकल्पित समाचारहरूको कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ। साथै, यस्ता भ्रामक सूचनामा विश्वास नगर्न सर्वसाधारणलाई अपिल गरेको छ।
प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया