काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले राजनीतिमा प्रवेश गर्ने विषयमा गम्भीर रूपमा सोचिरहेका बताएका छन्। बिहीबार पहिचानवादी मोर्चाका नेता डकेन्द्रसिं थेगिमसँगको भेटका क्रममा घिसिङले आफूलाई धेरैले राजनीतिमा लाग्न सुझाव दिइरहेको जानकारी दिएका हुन्।
“धेरैले राजनीतिमा लाग्न सुझाव दिनुभएको छ, त्यसबारे सोच्दैछु,” घिसिङले बताएका थिए। भेटपछि नेता थेगिमले नागरिकसँग कुरा गर्दै भने, “मेरो बुझाइमा कुलमान घिसिङ अब सम्भवत: राजनीतितिरै लाग्न सक्ने संकेत देखिन्छ। तर, उहाँले कुन माध्यम वा कुन बाटो भएर लाग्ने भन्नेबारे भने स्पष्ट रूपमा केही भन्नुभएको छैन।”
थप रूपमा घिसिङले आफू कुनै परम्परागत दलसँग आबद्ध नभएको पनि स्पष्ट पारेका छन्। माओवादी केन्द्रनिकट भन्ने चर्चा भए पनि त्यो साँचो नभएको उनले बताए।
थेगिमका अनुसार घिसिङले भनेका थिए, “यदि राजनीतिमा जानैपर्ने अवस्था आयो भने पनि स्वतन्त्र रूपमा जानुपर्छ भन्ने सोच बनाएको छु।”
यसबाट अनुमान गर्न सकिन्छ कि कुलमान घिसिङ निकट भविष्यमा स्वतन्त्र राजनीतिक भूमिकामा देखा पर्न सक्ने सम्भावना छ, यद्यपि हालसम्म उनले आफ्नो निर्णय सार्वजनिक रूपमा पुष्टि गरेका छैनन्।
प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया