सप्तरी । सप्तरीको खडक नगरपालिका–७, कल्याणपुरस्थित नेपाल बैंकको शाखामा गए राति चोरी भएको छ। राति करीब १२:२० बजे बैंकको सुरक्षा गार्डहरू सुत्ने कोठामा चोरी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीका अनुसार चोरी भएको बेला सुरक्षागार्ड प्रमोद चौधरी (३९), स्थायी ठेगाना भगाहा, र पर्शुराम चौधरी (४४), कञ्चनरूप, कोठामै सुतिरहेका थिए। उनीहरूले प्रहरीलाई दिएको जानकारीअनुसार कोठामा रहेको दराजबाट १२ बोरको एकनाले बन्दुक, त्यसमा प्रयोग हुने २० राउन्ड गोली, दुई थान मोबाइल फोन, एक थान डिजिटल तराजु लगायतका सामग्री हराएका थिए।
घटनाको जानकारीपछि बिहान ३:३० बजे इलाका प्रहरी कार्यालयबाट टोली खटिएको थियो। चोरको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीले अन्य प्रहरी कार्यालयहरू तथा छिमेकी जिल्लासँग समन्वय गरेको थियो।
प्रहरीका अनुसार बिहान ३:४५ बजे सिरहा प्रहरीले चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति खडक नगरपालिका–६, बिरपुरका २० वर्षीय अपसाद अन्सारी हुन्। इलाका प्रहरी कार्यालय लहानको टोलीले उनलाई लहान नगरपालिका–३, हस्पिटल चोकबाट नियन्त्रणमा लिएको हो।
सोधपुछका क्रममा अन्सारीले बैंक चोरी गरेको स्वीकार गरेका छन्। उनको साथबाट दुई थान स्क्यानर, दुई थान ल्यापटप, दुई थान खुकुरी, पाँच थान मोबाइल, एक थान मिनी स्पिकर, दुई थान घडी, एक थान डिजिटल तराजु, विभिन्न सिमकार्डहरू र उनी चढेको स ६ प ५४७३ नम्बरको मोटरसाइकल बरामद गरिएको छ।
चोरी गरिएको बन्दुक भने बैंक परिसरबाट करिब ५०० मिटर पर रहेको झाडीमा लुकाएर राखिएको अवस्थामा प्रहरीले फेला पारेको हो।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा टोली परिचालित गरिएको छ। अनुसन्धान जारी रहेको जानकारी डिएसपी जितेन्द्रकुमार बस्नेतले दिएका छन्।
प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया