काठमाडौँ । नक्कली भिजिट भिसा काण्डमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाहीको माग गर्दै नागरिक अभियन्ता युवराज सफलले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाइएको पत्रमार्फत सफलले भिजिट भिसा प्रकरणमा मुछिएका उच्च पदस्थ व्यक्तिहरूलाई निलम्बन गरी कानुनी दायरामा ल्याउन आग्रह गरेका हुन्।
उनले गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडीलाई पदबाट तत्काल निलम्बन गर्न र उनीहरूविरुद्ध प्रचलित कानुनअनुसार मुद्दा दर्ता गरी गिरफ्तार गर्न माग गरेका छन्।
सफलले ध्यानाकर्षण पत्रमा उल्लेख गरेअनुसार नक्कली कागजात प्रयोग गरी भिजिट भिसा तयार पार्ने र त्यसबापत लाखौं रुपैयाँ एयरपोर्ट अध्यागमनका कर्मचारीलाई बुझाई मानव तस्करी गरिने कार्यमा गृह मन्त्रालयका उच्च अधिकारीहरूसहित गृहमन्त्रीका सचिवालय सदस्यसमेत संलग्न रहेको समाचार विभिन्न सञ्चारमाध्यमहरूमा सार्वजनिक भइसकेको छ। यस विषयमा स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न उनले जोड दिएका छन्।
उनले गृहमन्त्री तथा गृह सचिवले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया नदिएको जनाउँदै, उनीहरूको मौनता आरोप स्वीकारेको संकेत हो भन्ने टिप्पणी पनि गरेका छन्।
ध्यानाकर्षण पत्रमा भनिएको छ, “प्रधानमन्त्रीको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत कसले लाखौं रुपैयाँ कमिसन असुलेको हो, त्यो पनि छानबिन गरी दोषीलाई हदैसम्मको सजाय दिनुपर्छ। साथै, विगत पाँच वर्षको अवधिमा भिजिट भिसामा विदेश गएका नेपालीहरूको तथ्यांक, कति फर्किए कति हराए भन्ने विवरण पनि खोतलिनुपर्छ।”
यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा काण्डमा गम्भीर चासो देखाउँदै अनुसन्धान प्रारम्भ गरेको छ। अनुसन्धानको क्रममा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईसहित चार जनाको डिजिटल उपकरण (डिभाइस) नियन्त्रणमा लिइएको छ।
यस प्रकरणमा संलग्न सबै व्यक्तिलाई कानुनी दायरामा ल्याई निष्पक्ष ढंगले कारबाही हुनुपर्नेमा नागरिक समाजको जोड बढ्दो छ।
प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया