काठमाडौं । इन्डोनेसियाको सुमात्रा टापु नजिकै शुक्रबार बिहान ५.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (USGS) ले जानकारी दिएको छ। भूकम्पबाट एक सयभन्दा बढी घरहरू क्षतिग्रस्त भएका छन्, तर कुनै पनि मानवीय क्षतिको खबर भने आएको छैन।

USGS का अनुसार भूकम्प स्थानीय समय अनुसार बिहान २:५२ बजे समुद्री सतहदेखि ६८ किलोमिटर गहिराइमा, बेङ्कुलु प्रान्त नजिकै अफशोर क्षेत्रमा गएको हो। इन्डोनेसियाको मौसम विज्ञान तथा भूभौगोलिक एजेन्सी (BMKG) ले भूकम्पको केन्द्रबिन्दु ८४ किलोमिटर गहिराइमा रहेको र यसको परिमाण ६.० म्याग्निच्युड रहेको जनाएको छ। एजेन्सीका अनुसार यस भूकम्पका कारण सुनामीको कुनै सम्भावना छैन।

advertisement

राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सी (BNPB) का प्रवक्ता अब्दुल मुहारीले बेङ्कुलु सहरमा १४० घर प्रभावित भएको जानकारी दिएका छन्। तीमध्ये आठ घर पूर्ण रूपमा ध्वस्त भएका छन् जसको मर्मत सम्भव छैन। त्यस्तै, सेन्ट्रल बेङ्कुलु जिल्लामा दुई घरमा सामान्य क्षति पुगेको उनले बताएका छन्।

इन्डोनेसिया भूकम्पीय गतिविधिका हिसाबले संवेदनशील मुलुक हो। सन् २०२१ मा सुलावेसी टापुमा गएको ६.२ म्याग्निच्युडको भूकम्पले १०० भन्दा बढीको ज्यान लिएको थियो भने हजारौँ मानिस विस्थापित भएका थिए। यसअघि, सन् २०१८ मा सुलावेसीको पालू सहरमा ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीबाट २,२०० भन्दा बढीको ज्यान गएको थियो। सन् २००४ मा आचे प्रान्तमा आएको ९.१ म्याग्निच्युडको भूकम्प र त्यसपछिको विनाशकारी सुनामीमा १ लाख ७० हजारभन्दा बढीले ज्यान गुमाएका थिए।

इन्डोनेसिया प्रशान्त महासागरको “रिङ अफ फायर” क्षेत्रमा अवस्थित रहेकाले यहाँ भूकम्प तथा ज्वालामुखी विस्फोटजस्ता प्राकृतिक प्रकोपहरू बारम्बार आउने गर्छन्।

प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com