काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही नभएको भ्रामक प्रचारलाई अहिले फेसनझैं बनाइएको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौं महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रलाई सधैं निराशाजनक दृष्टिकोणले हेर्ने प्रवृत्तिप्रति असन्तोष व्यक्त गरे।
“अहिले ‘के भयो र?’, ‘के ल्यायो र प्रजातन्त्रले?’ भन्नेजस्ता प्रश्न उठाउँदै नकारात्मक प्रचार गर्ने अभ्यास सामान्यझैं भइरहेको छ,” सिंहले भने, “तर हामीले भोगिरहेको अभिव्यक्ति स्वतन्त्रताको अधिकार आफैंले कमाएका हौं, यो अधिकार लोकतान्त्रिक प्रणालीकै देन हो।”
उनले थपे, “संघर्ष र बलिदानबाट प्राप्त अधिकारको रक्षा र संस्थागत गर्ने दायित्व अब हाम्रो काँधमा आएको छ। अधिकार प्राप्त भएपछि त्यसको संरक्षण र विस्तारमा जुट्नु हाम्रो साझा जिम्मेवारी हो।”
हालको समयमा प्राप्त उपलब्धिहरूलाई सस्तो मूल्यांकन गर्दै निरन्तर आलोचना गर्ने प्रवृत्तिले देशको प्रगतिमा नकारात्मक असर पार्न सक्ने चेतावनी पनि उनले दिए।
“आजकल प्राप्त उपलब्धिलाई केही होइन भन्ने र केवल नकारात्मक पक्ष मात्र हाइलाइट गर्ने प्रवृत्ति देखिन्छ। तर के नयाँ केही प्राप्त गर्न यस्तो आलोचना भइरहेको हो?,” भन्ने प्रश्न गर्दै उनले विगतको त्याग, तपस्या र बलिदानबाट प्राप्त प्रणालीप्रति सबै गम्भीर हुनुपर्नेमा जोड दिए।
उनले जनताको अधिकार सुरक्षित राख्ने विषयमा सबै नागरिक सचेत र जिम्मेवार बन्नुपर्ने औंल्याए।
प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया