काठमाडौं । भिजिट भिसा प्रकरणमा आफ्नो नाम जोडिएकोप्रति गृहमन्त्री रमेश लेखकले प्रतिक्रिया दिएका छन्। केही दिनयता सामाजिक सञ्जालमा आफूसँग सम्बन्धित विभिन्न आरोप लागिरहेका सन्दर्भमा उनले अब चुप लागेर नबस्ने संकेत दिएका हुन्।
धनुषा दौडाहामा रहेका गृहमन्त्री लेखकले भने, “केही दिनदेखि सामाजिक सञ्जालमा भिजिट भिसासँग जोडेर मेरोबारेमा अनेक लेखाजोखा भइरहेका छन्। म चुपचाप बसेको थिएँ, कारण थाहा पाउन खोज्दै थिएँ—यस्तो कसले, किन र कहाँबाट गरिरहेको छ भनेर। अहिले मलाई धेरै कुरा स्पष्ट भइसकेको छ।”
उनले राजधानी फर्किएपछि गृह मन्त्रालयमार्फत आधिकारिक प्रेस विज्ञप्ति जारी गरिने जानकारी पनि दिए।
गृहमन्त्री लेखकले थपे, “दुई–चार दिनमै म स्वयं पनि यो विषयमा खुलस्त रूपमा बोल्नेछु। त्यसपछि देशभरका सबै साथीहरूलाई यथार्थ थाहा हुनेछ। अहिले अनावश्यक हतार गरेर टिप्पणी गर्न चाहन्न। यो विषयले आत्तिनुपर्ने कुनै अवस्था छैन।”
राजनीतिक जीवनमा आफू सधैं पारदर्शी र इमानदार रहेको दाबी गर्दै उनले भने, “मैले कहिल्यै पार्टीका कार्यकर्ताको मन सानो बनाउने, टाउको निहुरिने काम गरेको छैन। जुन दिन मेरो हातबाट कुनै गलत कार्य हुन्छ, त्यस दिनदेखि म राजनीतिमा देखिइरहनेछैन। उठेका हरेक विषयको जवाफ म स्पष्ट रूपमा दिनेछु।”
उनको यो प्रतिक्रिया भिजिट भिसा प्रकरणमा सामाजिक तथा राजनीतिक क्षेत्रले चासो देखाइरहेका बेला आएको हो।
प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया