काठमाडौं । रुसले शनिबार रातभर युक्रेनमा गरेको हवाई आक्रमणमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ। युक्रेनका क्षेत्रीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले उक्त जानकारी दिएको हो।
ख्मेल्नेत्स्की क्षेत्रका अधिकारीका अनुसार सो क्षेत्रमै ४ जनाको ज्यान गएको छ। राजधानी किभ क्षेत्रमा ३ जना र दक्षिणी सहर माइक्लेभामा १ जनाको मृत्यु भएको बताइएको छ।
यो हमला रुसले युक्रेनमाथि हालसम्मकै सबैभन्दा भारी आक्रमण गरेको भनिएको दिनको भोलिपल्ट भएको हो।
यसैबीच, रुसी रक्षा मन्त्रालयले शनिबार राति चार घण्टाको अवधिमा युक्रेनले प्रक्षेपण गरेका ९५ ड्रोन खसालिएको दाबी गरेको छ। यद्यपि, ड्रोन आक्रमणबाट कुनै मानवीय क्षति नभएको जनाइएको छ। उक्त हमलाका कारण मस्कोका विमानस्थलहरूमा हवाई सेवा प्रभावित भएको थियो।
सन् २०२२ को फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि करिब २० प्रतिशत युक्रेनी भू-भाग मस्कोको नियन्त्रणमा पुगेको छ। यसमा २०१४ मा रुसले कब्जा गरेको क्रिमिया क्षेत्र पनि समावेश छ।
प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया