काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई पत्र लेख्दै गृह मन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई तत्काल बर्खास्त गर्न माग गरेका छन्। आइतबार लेखिएको उक्त पत्रमा उनले यी दुई मन्त्रीको नाम स्पष्ट रूपमा उल्लेख गर्दै उनीहरूको कार्यशैलीले पार्टीको साखमा गम्भीर आघात पु¥याएको भन्दै कडा निर्णयको आग्रह गरेका छन्।

सांसद बजगाईँले भनेका छन्, “केही मन्त्रीहरूको गैरजिम्मेवार कार्यशैलीका कारण पार्टीको गरिमा र जनविश्वासमा गम्भीर क्षति पुगेको छ। यद्यपि, केही मन्त्रीहरूले पार्टीको छवि उकास्ने प्रयास गरिरहेका छन्। तर, यदि पार्टीले यस्ता विषयमा समयमै कठोर निर्णय लिन सकेन भने, त्यसको गम्भीर राजनीतिक परिणाम भोग्नुपर्छ।”

advertisement

गृहमन्त्री लेखकका विषयमा बोल्दै सांसद बजगाईँले उनको सचिवालयमा कार्यरत कर्मचारीहरू अख्तियारको छानबिनमा परेको उल्लेख गर्दै प्रश्न उठाएका छन्। यद्यपि, व्यक्तिगत रूपमा मन्त्री लेखक भद्र व्यक्तित्वका रूपमा आफूले चिनेको उल्लेख गर्दै उनले भनेका छन्, “गृह मन्त्रालय जस्तो संवेदनशील निकायमा देखिएको यस्तो संकटले गृहमन्त्रीको नैतिक जिम्मेवारी अवश्य उठ्नुपर्छ। यो केवल नेतृत्वको प्रश्न होइन, समग्र मन्त्रालयको संरचनात्मक संकटको संकेत हो।”

पर्यटन मन्त्री पाण्डेको हकमा भने बजगाईँ अझै कडा रुपमा प्रस्तुत भएका छन्। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था ‘तस्करहरूको अखडा’ जस्तै भएको भन्दै विमानस्थलभित्रका पसल, सेवा प्रदायक, लोडर, क्लिनिङ कम्पनी लगायतका आउटसोर्स कम्पनीका सञ्चालकहरू सुन तथा विदेशी मुद्रा तस्करीमा संलग्न रहेको उल्लेख गरेका छन्।

बजगाईँले विमानस्थलको ब्याजेज बेल्टदेखि प्रस्थान क्षेत्र, भन्सार, ग्रिन च्यानल लाइन तथा कर्मचारीबीचको समन्वयसम्म चरम अस्तव्यस्त रहेको उल्लेख गर्दै त्यसको प्रत्यक्ष जिम्मेवारी मन्त्री पाण्डे र उनको मन्त्रालयले लिनुपर्ने बताएका छन्।

त्यति मात्र होइन, मन्त्री पाण्डेमाथि चिनियाँ सांस्कृतिक प्रभाव विस्तारमा संलग्न भएको आरोपसमेत लगाइएको छ। “पाण्डेले पञ्चेन लामालाई नेपाल आमन्त्रण गरेर नेपाली पर्यटन क्षेत्रमा चिनियाँ सांस्कृतिक उपनिवेशवादलाई प्रवर्द्धन गरेका छन्, जुन कार्य नेपालको राष्ट्रिय स्वाधीनतामाथिको घात हो,” पत्रमा उल्लेख गरिएको छ।

अन्त्यमा सांसद बजगाईँले नियतवश, लोभका कारण वा अक्षम कार्यसम्पादनका कारण पार्टीको छवि बिगार्ने मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न माग गर्दै देउवालाई स्पष्ट र कठोर निर्णय लिन आह्वान गरेका छन्।

प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com