काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ १५ गतेको आन्दोलनको तयारी गरिरहेका समूहहरूलाई राजावादी नभई खाओवादीको संज्ञा दिएका छन्।
शनिबार गोदावरीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले ती आन्दोलनकारीहरू पुराना राजावादीको नाममा नयाँ स्वरूपमा देखा परेको खाओवादी समूह भएको टिप्पणी गरे।
‘यी भनिएका राजावादी होइनन्, यी खाओवादी हुन्,’ प्रधानमन्त्री ओलीले हाँस्दै भने, ‘हिजो पनि नारायणीहिटी अगाडि उही पुरानै नारा लगाउँदै थिए— हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ।’
प्रधानमन्त्री ओलीले ती समूहहरूलाई प्रहार गर्दै सोधे, ‘यदि राजा साँच्चै प्राणभन्दा प्यारो थिए भने वीरेन्द्र शाहको सम्पूर्ण परिवार नष्ट हुँदा कहाँ लुकेका थिए यी नारा लाउनेहरू?’
उनले राजावादी र मण्डलेहरूको बानीझैँ झुटा कुरा गर्ने, बेइमान व्यवहार देखाउने, चाप्लुसी गर्ने भएको आरोप लगाए। ‘जनतालाई झुक्याउने, भ्रममा पार्ने काम यिनीहरूको पुरानो बानी हो,’ उनले भने।
प्रधानमन्त्री ओलीले राजावादीहरू कुनै राष्ट्रहित वा महान उद्देश्यका लागि नभई व्यक्तिगत स्वार्थका लागि सक्रिय भएको उल्लेख गरे। सरकार र जनताले हालको परिस्थितिमा अलिकति संयमता अपनाएको अवस्थामा ती समूहहरू अनावश्यक फुर्तिफार्ती देखाइरहेको पनि उनले टिप्पणी गरे।
प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया