काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको पछिल्लो अभिव्यक्तिप्रति कांग्रेसले गम्भीर प्रतिक्रिया नदिएको बताएका छन्।

शनिबार नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा गोदावरीमा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी जेठ १५ गते राजधानी काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए।

advertisement

प्रधानमन्त्रीको उक्त भनाइलाई लिएर आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा छलफल भएको थियो। बैठकपछि सञ्चारकर्मीले प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रश्न उठाउँदा प्रमुख सचेतक घिमिरेले त्यसलाई कांग्रेसले सामान्य रूपमा लिएको जानकारी दिए।

उनले भने, “प्रधानमन्त्रीले गणतन्त्र दिवस मनाउने सन्दर्भमा अभिव्यक्ति दिनुभएको हो। उहाँले गणतन्त्रका पक्षधरहरू मात्र देखिऊन् भन्ने सन्देश दिन खोज्नुभएको थियो। तर बोल्दाबोल्दै ‘एमाले’ शब्द प्रयोग भयो। यदि उहाँले ‘एमाले’को सट्टा ‘गणतन्त्रवादी नेपाली जनता’ भन्नुभएको भए राम्रो हुन्थ्यो।”

उनले थपे, “कांग्रेसले प्रधानमन्त्रीको त्यो अभिव्यक्तिलाई सामान्य रूपमा लिएको छ।”

यसै क्रममा घिमिरेले कर्मचारीहरूविरुद्ध छानबिन भइरहँदा मन्त्रीहरूले राजीनामा दिन थालेमा सरकार सञ्चालन गर्नै गाह्रो हुने धारणा पनि राखे। “यदि कर्मचारी छानबिन हुँदा मन्त्रीले राजीनामा दिनुपर्ने हो भने एक जना पनि मन्त्री बाँकी रहनेछैन,” उनले भने।

प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com