काठमाडौँ । नेकपा (एमाले) ले जेठ १५ गते मनाइने गणतन्त्र दिवसका अवसरमा पार्टीद्वारा आयोजना गरिने उत्सवलाई भव्य बनाउने उद्देश्यले शीर्ष नेताहरूको जिम्मेवारी तोकेको छ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको जनसंगठनका अध्यक्ष, इन्चार्ज तथा उपत्यकाका वडा तहका पदाधिकारीहरूको भेलाले गणतन्त्र दिवसको सन्देश आमजनतामा पु-याउने गरी प्रदर्शनसहितको कार्यक्रम सञ्चालन गर्न कार्यविभाजन गरेको हो।
पार्टी महासचिव शंकर पोखरेलले गणतन्त्र दिवस जनताले स्मरण गर्नेगरी मनाउने तयारी भइरहेको बताए। उनले राजसंस्थाका पक्षमा फैलाइएको भ्रम चिर्न र गणतन्त्रको महत्व स्पष्ट पार्न पार्टीले जनस्तरबाट दबाब सिर्जना गर्ने उद्देश्य राखेको बताए।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, कार्यक्रम सञ्चालन तथा समन्वयका लागि विभिन्न नेता-कार्यकर्तालाई क्षेत्रगत जिम्मेवारी दिइएको छ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी समिति सदस्य कृष्णगोपाल श्रेष्ठलाई जनमानस परिचालनको जिम्मेवारी दिइएको छ। कोशी प्रदेश समन्वय उपाध्यक्ष रामबहादुर थापालाई, मधेश प्रदेशका आठ जिल्लाको समन्वय उपाध्यक्ष युवराज ज्ञवालीलाई, ललितपुरको समन्वय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई तथा भक्तपुरको समन्वय उपाध्यक्ष गुरु बराललाई दिइएको छ।
उपत्यका बाहेक बागमती प्रदेशका १० जिल्लाको समन्वय उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई जिम्मा दिइएको छ। स्वयंसेवक परिचालन उपमहासचिव विष्णु रिमालको जिम्मामा छ भने बागमतीका जिल्लाहरूको समन्वय उपमहासचिव प्रदीप ज्ञवालीले गर्नेछन्। सुदूरपश्चिम र कर्णाली प्रदेश समन्वय सचिव लेखराज भट्टलाई, लुम्बिनी र गण्डकी प्रदेशका जिल्ला समन्वय सचिव पद्मा अर्याललाई दिइएको छ।
यसैगरी, जनसङ्गठन समन्वय सचिव गोकर्ण विष्ट, उपत्यका विशेष संयोजन सचिव योगेश भट्टराई, तथा सबै विभाग समन्वय सचिव छविलाल विश्वकर्माको जिम्मामा राखिएको छ।
गणतन्त्र दिवसको दिन एमालेले भृकुटीमण्डपमा र्याली, झाँकीसहितको जनप्रदर्शन गर्ने जनाएको छ। पार्टी सचिवालयको आइतबार बसेको बैठकले गणतन्त्र दिवस भव्य रुपमा मनाउने निर्णय गरेको हो।
प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया