काठमाडौं ।  नेपाली कांग्रेसभित्र गृहमन्त्री रमेश लेखकसँग सम्बन्धित विवादलाई लिएर नेताहरू शेखर कोइराला, राजेन्द्र बजगाईं र सुनिल शर्मासँग स्पष्टीकरण माग्नुपर्ने प्रस्ताव उठेको छ।

सोमबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा तीन नेतासँग स्पष्टीकरण माग्नुपर्ने विषयमा छलफल भएको हो।

advertisement

बैठकमा गृहमन्त्री लेखकले ‘पद छाड्न तयार छु, तर छानबिन होस्’ भन्ने अभिव्यक्ति दिनुपर्ने बताउने शेखर कोइरालाले सार्वजनिक रूपमा मन्तव्य दिएका थिए। शेखरले हालै विराटनगरमा गृहमन्त्रीले मार्गप्रशस्त गर्नु उचित हुने बताएका थिए।

प्रतिनिधिसभाका सांसदहरू राजेन्द्र बजगाईं र डा. सुनिल शर्मामाथि पनि पार्टी नेतृत्वप्रति असन्तुष्टि सार्वजनिक रूपमा व्यक्त गरेकाले स्पष्टीकरण माग्नुपर्ने धारणा बैठकमा आएको हो। बजगाईंले सभापति देउवालाई इमेलमार्फत चिठी लेख्दै भ्रष्टाचार आरोप लागेका र कार्यक्षमता कमजोर देखिएका मन्त्रीहरूलाई फिर्ता बोलाउन आग्रह गरेका थिए।

बैठकमा नेता शेखर कोइरालालाई पनि बोलाइए पनि उनी उपत्यकाबाहिर रहेकाले अनुपस्थित रहेका थिए। बैठकमा को कसले स्पष्टीकरणको प्रस्ताव अघि सारे भन्ने स्पष्ट नभए पनि, बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पूर्वमहामन्त्री डा. शशांक कोइरालाले सभापतिलाई ती तीन नेतासँग स्पष्टिकरण माग्न सुझाव दिएको बताए।

“हामीले सभापतिलाई भनेका छौं- बोलाएर सोध्नुपर्छ, के भयो भनेर। समाधान निकाल्नुपर्छ,” शशांकले भने, “शेखर, सुनिल र राजेन्द्रसँग स्पष्टीकरण माग्नैपर्छ भनेर बैठकमा प्रस्ताव गरिएको हो।”

सभापति देउवाले यसबारे निर्णय नगरेको र “हेर्छु” मात्र भनेको शशांकले जानकारी दिए। उनले स्पष्ट रूपमा भने, “मलाई लाग्छ स्पष्टीकरण सोध्नैपर्छ, किनकि पार्टीभित्रको मतभेदलाई यसरी बाहिर ल्याउँदा पार्टीलाई हानि पुग्छ। अब अरू उपाय छैन।”

प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com