काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेज गर्न अहिलेको समय राजावादीहरूका लागि सबैभन्दा अनुकूल रहेको बताएका छन्।
१५ जेठका लागि घोषित आन्दोलनका सन्दर्भमा सञ्चारकर्मीहरूसँगको छलफलमा थापाले यस्तो धारणा राखेका हुन्।
उनले विगत केही समयदेखि छुट्टाछुट्टै रहेका राजावादी शक्ति अहिले एउटै ठाउँमा उभिन थालेको दाबी गर्दै अहिले आफ्ना एजेन्डा अघि सार्न उपयुक्त अवसर आएको बताए।
“राजावादीहरू पानी बाराबारको अवस्थामा थिए, अहिले एउटै ठाउँमा उभिने अवस्थामा आएका छन्,” अध्यक्ष थापाले भने, “गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेज गर्न यो सबैभन्दा अनुकूल समय हो भन्ने महसुस अहिले गरिएको छ।”
थापाले दलहरूले राजावादी धारणा र वैचारिक अस्तित्व समाप्त पार्ने प्रयास गरिरहेको आरोप पनि लगाए। त्यस्तो प्रयासविरुद्ध अहिलेको परिस्थितिलाई ‘महत्वपूर्ण रियलाइजेसन’ भनेका छन्।
उनले वर्तमान सरकारले गणतन्त्रको विरोधलाई राज्यद्रोह ठहरिने खालको कानुन ल्याउन खोजेको समेत आरोप लगाए।
थापाअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि आफ्नो धारणा राखेका थिए। उनले १५ जेठमा आह्वान गरिएको शान्तिपूर्ण आन्दोलनलाई असफल पार्न प्रधानमन्त्री स्वयं सक्रिय भएको आरोप लगाए।
प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार













प्रतिक्रिया