काठमाडौं । भिजिट भिसा प्रकरणले तातेको राजधानीमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विभिन्न विद्यार्थी र युवा संगठनले विरोध प्रदर्शन गरेका छन्।
मंगलबार माइतीघर मण्डलामा आयोजित संयुक्त प्रदर्शनमा अखिल क्रान्तिकारी, अखिल समाजवादी, अनेरास्ववियू, युवा संघ नेपाल, योङ कम्युनिस्ट लिग (वाइसीएल) र युवा संगठन नेपाल सहभागी थिए। प्रदर्शनकारीहरूले गृहमन्त्री लेखकलाई ‘नालायक’ र ‘भ्रष्ट’ भन्दै राजीनामा माग गर्दै सरकारविरुद्ध कडा नाराबाजी गरेका थिए।
‘नालायक गृहमन्त्री राजीनामा दे’, ‘भ्रष्ट गृहमन्त्री हटाओ’, ‘दलाल सरकार मुर्दावाद’, ‘भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन गर’ जस्ता नारासहित प्रदर्शनकारीले सरकारको आलोचना गरेका थिए।
उता, मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहितका अन्य विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेका छन्। उनीहरूले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेका छन्।
यस प्रकरणमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पहिले नै पक्राउ परिसकेका छन्। घटनाले राजनीतिक र प्रशासनिक वृत्तमा गम्भीर बहस सिर्जना गरेको छ।
प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार












प्रतिक्रिया