काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक आफूप्रति मात्र केन्द्रित भएको भन्ने सुन्दा आश्चर्य लागेको बताएका छन्।
मंगलबार विराटनगरमा आयोजित नेपाल नाई संघको राष्ट्रिय परिषद् उद्घाटन समारोहमा बोल्दै डा. कोइरालाले उक्त बैठकमा समसामयिक राष्ट्रिय मुद्दा होइन, आफ्नो विषयमा मात्र छलफल हुनु आपत्तिजनक भएको बताए।
“मलाई लागेको थियो, सभापतिजीको घरमा भएको बैठकमा हालै प्रधानमन्त्रीले पार्टी कार्यकर्तालाई काठमाडौं कब्जा गर्न दिएको निर्देशन जस्ता गम्भीर विषयमा छलफल हुनेछ,” उनले भने, “तर अन्ततः विषय मेरो मात्र रहेछ भन्ने सुन्दा आश्चर्य लाग्यो।”
डा. कोइरालाले प्रधानमन्त्रीजस्तो संवैधानिक पदमा आसिन व्यक्तिले गैरराजनीतिक र उत्तेजनापूर्ण अभिव्यक्ति दिँदा कांग्रेसले चुप लागेर बस्नु हुन्न भन्ने धारणा राखे। उनले भने, “प्रधानमन्त्री व्यक्ति मात्र होइन, त्यो पद आफैंमा संस्थागत गरिमा बोकेको हो। यस्तो पदमा रहेर दिइने हरेक अभिव्यक्तिको असर र अर्थ हुन्छ।”
उनले कांग्रेस पार्टीले जिम्मेवार सवालमा पनि औपचारिक रूपमा नबोल्नु दुःखद भएको बताए। “प्रधानमन्त्रीले जेसुकै बोले पनि कांग्रेस किन मौन बसिरहने? के त्यस्तो बाध्यता आइपर्यो?” भन्दै उनले प्रश्न गरे।
डॉ. कोइरालाले पछिल्लो समय नेपाली कांग्रेस मौलिकता गुमाउँदै गएको भन्दै चिन्ता व्यक्त गरे। उनका अनुसार पार्टीले जनअपेक्षा अनुसार स्पष्ट र जिम्मेवार धारणा लिन नसक्नु दुर्भाग्यपूर्ण हो।
प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार












प्रतिक्रिया