एजेन्सी । सुडानमा फैलिएको हैजा प्रकोपका कारण पछिल्लो सातामा १७२ जनाले ज्यान गुमाएका छन् भने २,५०० भन्दा बढी व्यक्तिहरू हैजामा संक्रमित भएका छन्। स्वास्थ्य अधिकारीहरूको भनाइ अनुसार, राजधानी खार्तुम र ओमदुरमान शहरमा हैजाको प्रकोप विशेष रूपमा फैलिएको छ। यसका साथै नर्थ कोर्डोफान, सेन्नार, गजिरा, ह्वाइट नाइल र नाइल रिभर प्रान्तहरूमा पनि हैजाका बिरामी देखा परेका छन्।
‘डाक्टर्स विदआउट बोर्डर्स’ (एमएफएस) की सुडान संयोजक जोयस बेकरका अनुसार, मध्य मेदेखि हैजाको संक्रमणमा चाँडो वृद्धि भएको छ। बेकरले गत साता मात्रै लगभग २,००० हैजाका बिरामीहरूको उपचार गरेको बताइन्। सुडानका स्वास्थ्यमन्त्री हैथम इब्राहिमले खार्तुम क्षेत्रमा मात्र पछिल्लो एक महिनामा सातामा औसत ६०० देखि ७०० हैजाका संक्रमित देखिएको जानकारी दिए।
बेकरले ओमदुरमानका उपचार केन्द्रहरूमा बिरामीहरूको अत्यधिक चापका कारण थुप्रै बिरामीलाई समयमै उपचार उपलब्ध गराउन नसकिने कुरा उल्लेख गरिन्। उनले भने, “धेरै बिरामी ढिलो गरी उपचारका लागि आइपुग्दा, कतिपयलाई समयमै उपचार नगर्दा बचाउन सकिएको छैन।” उनले पानी र सरसफाइका साथै थप उपचारका लागि संयुक्त प्रयासको आवश्यकता रहेको धारणा व्यक्त गरिन्।
यसअघि मार्च महिनामा ह्वाइट नाइल प्रान्तमा हैजाका कारण ९२ जनाले ज्यान गुमाएका थिए भने २,७०० भन्दा बढी संक्रमित भएका थिए। युद्ध सुरु भएको समयदेखि सुडानमा हैजा प्रकोप अझै तीव्र भएको छ। युद्धले गरिबी र सामाजिक रूपमा पछि परेको यो अफ्रिकी मुलुकका स्वास्थ्य, पानी र सरसफाइका पूर्वाधारलाई निकै कमजोर बनाएको छ।
एमएसएफका अनुसार, द्वन्द्वका कारण बिजुली र पानीको पूर्वाधार ध्वस्त भएका कारण सर्वसाधारण असुरक्षित पानी पिउन बाध्य छन्। विश्व स्वास्थ्य संगठनका अनुसार, सुडानको स्वास्थ्य सेवा प्रणाली युद्धका कारण अझै थप अस्तव्यस्त भएको छ।
प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया