काठमाडौं । विश्वचर्चित स्पेनी फुटबल क्लब बार्सिलोनाले युवा खेलाडी लामिन यमालसँग २०३१ सम्मका लागि नयाँ सम्झौता गरेको छ ।
क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एफसी बार्सिलोना र लामिन यामालबीच नयाँ सम्झौतामा सहमति भएको छ, जसअनुसार उनी २०३१ जुन ३० सम्म क्लबमा रहनेछन्।’
१७ वर्षीय लामिनले क्लबका अध्यक्ष जोआन लापोर्टा, उपाध्यक्ष राफा युस्ते र खेल निर्देशक डेकोको उपस्थितिमा नयाँ सम्झौतामा हस्ताक्षर गरेका हुन्।
लामिन यामालले १५ वर्षको उमेरमा २०२३ अप्रिल २९ मा बार्सिलोनाबाट डेब्यु गरेका थिए। त्यसयता उनले छोटो समयमा नै विश्वकै उत्कृष्ट युवा खेलाडीको रुपमा आफूलाई स्थापित गरेका छन्।
स्पेनी राष्ट्रिय टोलीका खेलाडी समेत रहेका लामिनले २०२४ को युरो कप जित्न भूमिका खेलेका थिए। यस सिजन बार्सिलोनाका लागि तीनवटा उपाधि जिताउन पनि उनले महत्वपूर्ण भूमिका खेलेका छन्।
अब उनले २०३१ सम्मको सम्झौता विस्तार गरेका छन् र उनले क्लबमै एक उच्च तलब पाउने खेलाडी हुने अपेक्षा गरिएको छ । जसअनुसार उनले वार्षिक करिब १५ मिलियन युरो तलब पाउने छन्।
उक्त सम्झौतामा १ बिलियन युरो बराबरको रिलिज क्लज पनि राखिएको छ।
प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार














प्रतिक्रिया