काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भोलि हुने शान्तिपूर्ण आन्दोलनमा कुनै अप्रिय घटना भए त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्।
संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै शाहीले प्रधानमन्त्री ओलीले संविधान र कानुनको उल्लंघन गर्दै उत्तेजक भाषणमार्फत भिड जम्मा गरेर द्वन्द्वको वातावरण सिर्जना गर्न खोजेको आरोप लगाए।
शाहीले भने, “हाम्रो आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुनेछ। यदि त्यसक्रममा कुनै हिंसात्मक घटना घट्यो भने त्यसको जिम्मेवार प्रधानमन्त्री स्वयम् हुनेछन्। राष्ट्रिय मानव अधिकार आयोगले समेत हाम्रो आन्दोलनप्रति समर्थन जनाउँदै विज्ञप्ति जारी गरिसकेको छ।”
उनले आफ्नो पार्टीको कार्यक्रम भोलि रत्नपार्कस्थित शान्तिबाटिकामा आयोजना हुने स्पष्ट पारे। साथै, प्रधानमन्त्री ओलीलाई सडकमा बहस गर्न चाहन्छन् भने पदबाट राजीनामा दिएर आउन पनि चुनौती दिए।
प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया