काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राजावादी आन्दोलन र संसद अवरोधबारे टेलिफोन संवाद गरेका छन्।
गृहमन्त्री रमेश लेखकमाथि उठेका प्रश्नहरूको जवाफ दिन संसदमा बोल्ने वातावरण बनाउने सन्दर्भमा प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डबीच कुरा हुँदा राजावादी आन्दोलनका विषयमा पनि छलफल भएको माओवादी सांसद माधव सापकोटाले जानकारी दिएका छन्।
बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री लेखक र प्रमुख सचेतक श्याम कुमार घिमिरेबीच छलफल भएको थियो। त्यसपछि ओलीले प्रचण्डलाई फोन गरेका थिए।
प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकलाई सदनमा बोल्न दिन वातावरण बनाउन आग्रह गरेका थिए। जवाफमा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रसहित विपक्षी दलहरू गृहमन्त्रीको राजीनामाको मागबाट पछि नहट्ने अडान पुनः दोहोर्याए।
ओलीले गृहमन्त्रीको सचिवालयमा कर्मचारीहरू तानिएको मात्रै हो भन्दै त्यस्तो घटनामा मन्त्रीले राजीनामा दिनुपर्ने कुनै संवैधानिक वा कानुनी व्यवस्था नरहेको बताएका थिए।
“राजावादीहरूले भोलिदेखि आन्दोलन गर्दै छन्, यस्तो अवस्थामा संसद अवरुद्ध गर्दा राम्रो सन्देश जाँदैन,” ओलीले प्रचण्डलाई भनेका थिए, “गृहमन्त्रीलाई जवाफ दिन दिनुहोस्, वातावरण बनाउन सहयोग गर्नुस्।”
प्रचण्डले भने गृहमन्त्रीको राजीनामा भएमा त्यसपछि प्रधानमन्त्रीले सदनलाई सम्बोधन गरेर स्पष्ट धारणा दिनु उचित हुने बताए। उनले गणतन्त्रको पक्षमा माओवादीको स्पष्ट प्रतिबद्धता दोहोर्याउँदै, माओवादीले विगतमा राजावादीको प्रतिरोध गर्दा सरकारलाई सहज भएको स्मरण गराएका थिए।
बुधबार नै नयाँ बानेश्वरस्थित संसद भवनमा प्रचण्डको आह्वानमा बसेको विपक्षी दलहरूको बैठकमा राजावादी राप्रपालाई भने बोलाइएको थिएन। यसलाई गणतन्त्रविरोधीलाई ‘स्पेस’ नदिने सन्देशका रूपमा प्रचण्डले प्रस्तुत गरेका थिए।
प्रचण्डले भूमिसम्बन्धी विधेयक समितिमा पठाउन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए।
यसैबीच, नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले जेठ १५ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरू गर्ने घोषणा गरेको छ। राजसंस्था पुनर्स्थापना, हिन्दू राष्ट्र पुनर्स्थापना र संघीयता खारेजीजस्ता एजेन्डासहित समितिले ‘जनआन्दोलन’ सुरू गर्न लागेको हो। राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय शक्ति नेपाललगायत समूहले आन्दोलनलाई समर्थन जनाएका छन्।
यद्यपि, आन्दोलनका लागि समिति वा समर्थक समूहहरूले जिल्ला प्रशासन कार्यालयबाट कुनै औपचारिक अनुमति लिएका छैनन्। संयोजक सुवेदीले आन्दोलनका लागि प्रशासनबाट अनुमति लिनु नपर्ने दाबी गरेका छन्।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार भोलिदेखि काठमाडौंको रत्नपार्कबाट आन्दोलन सुरू हुनेछ, जसमा देशभरबाट झन्डै २५ हजार सहभागी हुने अनुमान गरिएको छ।
प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया