काठमाडौं । भिजिट भिसा प्रकरणमा निष्पक्ष र निर्भीक अनुसन्धानको माग गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धानमा कुनै पनि प्रकारको अलमल नगर्न आग्रह गरेका छन्।
धरानमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भिजिट भिसाको नाममा भइरहेका ठगी, शोषण र संगठित अपराधलाई जडसहित उन्मूलन गर्न तत्काल कानुनी र प्रशासनिक सुधार आवश्यक रहेको बताए।
उनले भने, “भिजिट भिसाको नाममा भइरहेको ठगी र आपराधिक जालोको छानबिनमा कुनै पनि अन्योल हुनु हुँदैन। दोषीलाई कारबाही हुनु पर्छ। साथै, यो नाममा हुने ठगी धन्दा र यसले आम नेपाली नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न ठोस कदम चाल्न आवश्यक छ।”
थापाले सयौं नेपालीहरू भिजिट भिसाको नाममा ठगिएको तथ्य सार्वजनिक भइरहेका बेला यो प्रकरणको जटिलता र जालो कति फैलिएको हो भन्ने कुरा दिनप्रतिदिन स्पष्ट हुँदै गएको बताए। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखसमेतको अनुसन्धान थाल्नु स्वागतयोग्य भए पनि अनुसन्धान निष्पक्ष र गहिरो हुनुपर्नेमा जोड दिए।
“कुनै शक्तिप्रति झुकेको नभइ, न त भिडको दबाबमा परेर, अनुसन्धान दृढ, निष्पक्ष र सत्यतर्फ उन्मुख हुनुपर्छ। यस प्रकरणका हरेक तह र जरा खोजी गरी कारबाही गर्नुपर्छ,” थापाको भनाइ थियो।
उनले गृहमन्त्री रमेश लेखकको नामसमेत यो प्रकरणसँग जोडिँदै चर्चा भइरहेकाले, यस्तो अवस्थामा पदमा बसिरहन मिल्छ कि मिल्दैन भन्ने बहस स्वाभाविक भएको बताए। तर यस्ता विषयमा निर्णय संविधानअनुसार जिम्मेवारी पाएको अख्तियारले प्रमाणका आधारमा गर्नु पर्ने उनको तर्क थियो।
“हरेक वर्ष हजारौं अधिकारीहरू माथि अनुसन्धान हुन्छ, कसैलाई अभियोजन गरिन्छ, कसैलाई गरिँदैन। यो नियमित प्रक्रिया हो, त्यसैले सबैले सहयोग गर्नुपर्छ,” उनले भने।
थापाले हालको सरकारका दर्जनौं मन्त्रालयका सयौं अधिकारीहरू समेत अनुसन्धानको दायरामा रहेका जानकारी दिँदै भने, “अनुसन्धानको क्रममा नयाँ तथ्य भेटिएमा सम्बन्धित अन्य राजनीतिक वा प्रशासनिक व्यक्तिहरू पनि अनुसन्धानमा समावेश हुन सक्छन्।”
प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार













प्रतिक्रिया