काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकासमार्फत मात्र समुन्नत, सभ्य र समृद्ध नेपाल निर्माण गर्न सकिने उल्लेख गरेका छन् ।

आज गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले नेपाली जनताको बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । सभापति देउवाले समावेशी लोकतन्त्र, सामाजिक न्याय, समता र समृद्धिको मार्गमा अग्रसर हुँदै दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

advertisement

उनले लोकतन्त्रको संरक्षण र संवर्द्धनका लागि योगदान गर्ने सबैमा उच्च सम्मान प्रकट गरेका छन् । “नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको स्थापना तथा पुन:स्थापना, लोकतन्त्रको संरक्षण र संवर्द्धनका लागि हरेक लोकतान्त्रिक आन्दोलनमा सहभागी थुप्रै सन्ततिले अमूल्य जीवन उत्सर्ग गरेका छन्”, सभापति देउवाले अगाडि भनेका छन्, “तिनै ज्ञात–अज्ञात वीर सहिदप्रति गणतन्त्र दिवसका अवसरमा उनीहरूको गौरवपूर्ण योगदान, अदम्य साहस, समर्पण र बलिदानको स्मरण गर्दै उच्च सम्मानका साथ श्रद्धाञ्जली अर्पण गर्दछु ।”

बि.सं. २०६२/६३ को जनआन्दोलनको ऐतिहासिक सफलतापछि काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले संविधानसभाको निर्वाचन सम्पन्न गरेको थियो । त्यसैको परिणामस्वरूप, २०६५ साल जेठ १५ गते संविधान सभाको पहिलो बैठकबाट राजतन्त्रको औपचारिक अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो । यो ऐतिहासिक दिनलाई प्रत्येक वर्ष ‘गणतन्त्र दिवस’का रूपमा गौरवका साथ मनाइँदै आइएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com