काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था समर्थकहरूलाई काठमाडौँ प्रवेशमा अवरोध पुर्याइएको आरोप लगाएको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार देशका विभिन्न भागबाट राजसंस्था पक्षधरहरू आन्दोलनमा सहभागी हुन काठमाडौँ आउँदै गर्दा उनीहरूलाई नौबिसे क्षेत्र आसपासमा रोक्ने, अनावश्यक रुपमा सोधपुछ गर्ने तथा आवागमनमा बाधा पुर्याउने प्रयास भइरहेको छ।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत यस्तो गतिविधि बन्द गर्न आग्रह गर्दै प्रशासनलाई जिम्मेवारीपूर्वक वातावरण सहज बनाउन ध्यानाकर्षण गराएका छन्। उनले लेखेका छन्, “राजसंस्था पक्षधर राष्ट्रवादी साथीहरूलाई नौबिसे हुँदै काठमाडौँ आउँदा अवरोध पुर्याइएको सूचना प्राप्त भएको छ। यस्तो गतिविधि नगर्न र स्वतन्त्र रूपमा आन्दोलनमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्न प्रशासन गम्भीर होस्।”
यसैबीच, राजसंस्था पुनःस्थापनाको मागसहित राजावादी समूहले बिहीबारदेखि सरकार र वर्तमान प्रणालीविरुद्ध आन्दोलन सुरु गरेका छन्। आन्दोलनको सिलसिलामा देशका विभिन्न भूगोलबाट सहभागीहरू काठमाडौँ प्रवेश गरिरहेका छन्।
उता, आज बिहान काठमाडौँको नागढुंगा–नौबिसे सडकखण्डमा बस दुर्घटना हुँदा केही समयका लागि सडक आवागमन प्रभावित भएको छ। प्रहरीका अनुसार दाङबाट काठमाडौँ आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस बिहान करिब २:४५ बजे सडकको छेउमा रहेको नालीमा खस्दा सवारी आवागमन केही समय अवरुद्ध भएको हो।
प्रहरीले दुर्घटनापछि सडक खुलाउने प्रयास भइरहेको जनाएको छ। यस घटनाले आन्दोलनमा सहभागी हुन आउन लागेको समूहको यात्रा पनि केही समय प्रभावित भएको अनुमान गरिएको छ।
प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया