काठमाडौं । जनकपुर–जयनगर रेलमार्गमा साढे तीन वर्षअघिदेखि नियमित रूपमा सञ्चालन हुँदै आएका दुई रेल अब झण्डै दुई महिना यो रेलखण्ड वरिपरिका बासिन्दाले देख्न पाउने छैनन्। नियमित यात्रुहरूले नेपालका आफ्नै यी दुई रेल चढेर यात्रा गर्न पनि पाउने छैनन्।
नेपाली राष्ट्रिय झण्डामा प्रयोग भएका रातो र नीलो रङ पोतिएका नेपाली रेलको साटो यो रेलमार्गमा यात्रा गर्ने यात्रीहरूले अलिक फरक खालको, पहेँलो रङको भारतीय रेलमा यात्रा गर्नुपर्नेछ।
प्रत्येक वर्ष नियमित रूपमा मर्मतसम्भार ९पिरियोडिकल ओभरहलिङ– पीओएच० गर्नुपर्ने रेल चार वर्षपछि पहिलोपटक मर्मतसम्भारका लागि लखनउ ९भारत० लगिने भएपछि जनकपुर–जयनगर रेलमार्गमा नेपाली रेलको साटो ‘शाकुरबस्ती’ नामको भारतीय रेल गुडाइन लागेको हो।
जानकारी अनुसार, नेपालका दुइवटै रेल सधैझैँ १८ जेठका दिन यात्रु बोकेर जयनगरतर्फ प्रस्थान गर्नेछन्। भारतको बिहार राज्यमा पर्ने जयनगर पुगेपछि यात्रुहरूलाई त्यहीँ ओरालेर दुवै रेल उत्तरप्रदेश राज्यको राजधानी लखनउतर्फ लाग्नेछन्।
सधैँजसो जनकपुरबाट जयनगर पुगेर फर्कने नेपाली रेल त्यसदिन लखनउतर्फ लागेपछि जयनगरबाट जनकपुर आउने यात्रुहरू कोंकण रेलवे कम्पनीको ‘शाकुरबस्ती’ नामको रेल चढेर फर्कन पाउनेछन्। त्यसपछि झण्डै दुई महिनासम्म त्यही ‘शाकुरबस्ती’ रेलले नै जनकपुर–जयनगर खण्डमा यात्रुहरूको ओसार–पसार गर्नेछ।
जानकारी अनुसार तन्दुरुस्त राख्न प्रत्येक वर्ष रेलको ‘ओभरहल’ गर्नुपर्ने हुन्छ। तर, नेपाली रेलहरू नियमित सञ्चालनमा आएको चार वर्ष पुग्न लागिसक्दा पनि ‘ओभरहलिङ’ गरिएको छैन। ‘ओभरहलिङ’ का लागि ठूलो रकम र समय लाग्ने तर त्यस अवधिमा सञ्चालन गर्न वैकल्पिक रेल र आवश्यक रकम समेत नभएका कारण अहिलेसम्म ‘ओभरहलिङ’ हुन नसकेको हो।
प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार












प्रतिक्रिया