काठमाडौं । २२ वर्षको उमेरमा आफ्ना छोरा त्रिलोकप्रताप सिंहलाई इँटा भट्टामा जिउँदै जलाइएको पीडामा रहेका श्रीनारायण सिंहले उच्च अदालत वीरगंजको हालैको फैसलाप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन्। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई बमकाण्डको अभियोगमा सफाइ दिएर अदालतले रिहा गरेपछि सिंहले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने घोषणा गरेका छन्।
“म अहिले ८४ वर्षको भएँ। म बाँचुन्जेल न्यायका लागि लडिरहनेछु,” सिंहले भावुक स्वरमा भने।
यसैबीच, रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा संघीय संसद्को महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले पनि अदालतको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। स्वतन्त्र उम्मेदवारबाट विजयी भई पछि एमालेमा प्रवेश गरेका साहले न्यायाधीशको नियुक्ति भागबण्डाका आधारमा भइरहेकाले सर्वसाधारणले निष्पक्ष न्याय नपाउने अवस्था सिर्जना भएको आरोप लगाए।
साहले उक्त फैसला नेपाली कांग्रेस र एमालेबीचको गठबन्धनको परिणाम भएको दाबी गर्दै भने, “यो निर्णयले पीडित परिवारहरूमा थप पीडा र भय सिर्जना गरेको छ।”
यता, पूर्वमन्त्री आलमको रिहाइप्रति समर्थन जनाउने पक्षले भने अदालतले न्याय दिएको तर्क गरेका छन्। तरुण दलका केन्द्रीय सदस्य शेख नौसाद आलमले रौतहट जिल्लाभर खुसीयाली छाएको बताए। फैसलापछि गौर कारागारबाट रिहा भएका आलमका भाइ महताब आलमलाई बुधबार साँझ हजारौं स्थानीयवासीले भव्य स्वागत गरेका थिए।
गाउँमा पनि आलमको भव्य स्वागत गरिएको छ। नेता आलमले न्यायालयप्रतिको जनविश्वास झनै मजबुत भएको बताएका छन्। उनका अनुसार मोहम्मद आफताब आलम र उनको परिवारलाई राजनीतिक प्रतिशोधका आधारमा झुटा मुद्दामा फसाइएको हो।
सो फैसलापछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन्। कतिपयले अदालतको निर्णयको स्वागत गरेका छन् भने अन्यले पीडितको पक्षमा उभिँदै न्यायको माग गरेका छन्। धेरैले रौतहटको राजनीतिक सन्तुलनमा फेरबदल आउने संकेतसमेत गरेका छन्।
प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया