काठमाडौं । पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफ्ताब आलमलाई रौतहट बम विस्फोट प्रकरणमा सफाइ दिने निर्णय गर्ने दुई न्यायाधीशविरुद्ध छानबिन र कारबाहीको माग गर्दै न्यायपरिषदमा उजुरी परेको छ।

न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध युवराज पौडेलले न्यायपरिषदमा उजुरी दर्ता गराएका हुन्। उनले सो मुद्दामा भएको फैसलालाई न्यायिक मर्यादाविपरीतको भन्दै ती न्यायाधीशहरुको भूमिका गम्भीर रुपमा प्रश्न उठाउने उल्लेख गरेका छन्।

advertisement

पौडेलले उजुरीमार्फत न्यायाधीशद्वयलाई पदबाट निलम्बन गरी निष्पक्ष छानबिन गर्नुपर्ने माग राखेका छन्। साथै, उनीहरूले विगतमा गरेका अन्य फैसलाहरूको पनि अध्ययन गरी मूल्यांकन गर्नुपर्ने माग निवेदनमा उल्लेख गरिएको छ।

यसअघि जिल्ला अदालतले आलमसहितलाई इँटाभट्टामा मानिसलाई जिउँदै जलाएको भन्दै व्यक्तिहत्याको आरोपमा दोषी ठहर गरेको थियो। सो क्रममा अदालतले विशेष आदेश जारी गर्दै पीडित र साक्षीको सुरक्षा सुनिश्चित गरेको थियो। तर, उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले ती प्रमाण र जिल्ला अदालतका आधारहरू बेवास्ता गर्दै आलमलगायतलाई सफाइ दिएको थियो।

न्यायपरिषद ऐनअनुसार कुनै पनि न्यायाधीशमाथि कार्यक्षमताको अभाव, खराब आचरण वा आचारसंहिताको गम्भीर उल्लंघनका आधारमा छानबिन गर्न सकिने व्यवस्था छ। पौडेलले सोही प्रावधान अन्तर्गत न्यायाधीश थारु र महर्जनको न्याय सम्पादन क्षमतामाथि प्रश्न उठाउँदै कारबाहीको माग गरेका हुन्।

उच्च अदालतको फैसलापछि ती दुई न्यायाधीशको निर्णय प्रक्रियामाथि व्यापक बहस र आलोचना भएको छ। यससँगै सो फैसलाले न्याय प्रणालीप्रतिको आम जनविश्वासमा गम्भीर असर पारेको टिप्पणीसमेत गरिएको छ।

प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com