काठमाडौं । दरबारभित्र रहेको ऐतिहासिक चतुरव्युह नारायण मन्दिर परिसरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने ट्रस्टले जनाएको छ।
२०५८ साल जेठ १९ गते राती नारायणहिटी दरबारमा आयोजित पारिवारिक भोजका क्रममा गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहसहित राजपरिवारका अधिकांश सदस्यको ज्यान गएको थियो। उक्त घटनाको अझैसम्म विश्वसनीय छानबिन हुन सकेको छैन। वीरेन्द्रको निधनपछि उनका भाइ ज्ञानेन्द्र राजा बने पनि उनको शासनकाल लामो टिक्न सकेन। २०६२/६३ सालको जनआन्दोलनपछि राजतन्त्र अन्त्य भयो र ज्ञानेन्द्रले दरबार त्यागे।
पूर्वराजा ज्ञानेन्द्रकी आमा रत्न राज्यलक्ष्मी शाह भने अझै नारायणहिटी दरबारभित्रको महेन्द्र मञ्जिलमा बस्दै आएकी छन्। उमेरका कारण उनलाई दरबार छोड्न नपारिएको हो। गणतन्त्रपछि पनि पूर्वराजा ज्ञानेन्द्र समयसमयमा आमालाई भेट्न दरबार पुग्ने गरेका छन्।
हालै जेठ १० गते पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमल, छोरी प्रेरणा र नाति हृदयन्द्रलाई साथमा लिएर नारायणहिटी पुगेका थिए। उनले आमालाई भेटेपछि चतुरव्युह नारायण मन्दिरमा पूजाआजा गरेका थिए। गणतन्त्र स्थापनापछि पूर्वराजपरिवारको सो मन्दिरमा यो नै पहिलो औपचारिक धार्मिक गतिविधि थियो।
उक्त मन्दिर दरबार परिसरभित्र भए पनि छुट्टै पर्खालले छुट्याइएको छ। पूर्वराजाका लागि दरबारबाट भित्रिने छुट्टै बाटो रहेको भए पनि अहिले त्यो बाटो बन्द गरिएको छ। नारायणहिटी दरबार संग्रहालय प्रशासनले त्यो मार्गमा ताल्चा लगाइदिएकाले हिमानी ट्रस्टका पदाधिकारीलाई अब बाह्य मार्ग प्रयोग गर्नुपर्ने भएको छ।
हिमानी ट्रस्टले दीप प्रज्वलन कार्यक्रममा सहभागीहरूको विवरण खुलाएको छैन। दुई दिनअघि सार्वजनिक गरिएको सूचनामा भनिएको छ, “स्वर्गीय श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव, स्वर्गीय श्री ५ बडामहारानी ऐश्वर्य राज्य लक्ष्मीदेवी शाह तथा अन्य दिवंगत शाही परिवारका आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्न उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।”
दीप प्रज्वलन कार्यक्रम साँझ ६ः३० बजे चतुर्व्युह नारायण मन्दिर परिसरमा हुने जनाइएको छ। पूर्वराजा ज्ञानेन्द्र र परिवारका अन्य सदस्य सहभागी हुने चर्चा भए पनि दरबार स्रोतहरूले औपचारिक रूपमा पुष्टि गरेका छैनन्। पूर्वराजाका संवाद सचिव फणिराज पाठकले आफूलाई यसबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन्। अहिले पूर्वराजा झापामा रहेको जनाइएको छ।
हाल राजसंस्थाका पक्षमा आन्दोलन चर्किरहेको सन्दर्भमा नारायणहिटी दरबारमै कार्यक्रम राखिएको हुनुले यो कदमलाई राजनीतिक रूपमा पनि विशेष महत्वका साथ हेरिएको छ। हिमानी ट्रस्टसँग सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेन।
प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार












प्रतिक्रिया