काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाहको हालको सक्रियता र नारायणहिटी क्षेत्रमा पुनः देखिएको राजपरिवारको चहलपहल बढेपछी सरकारले सो क्षेत्रको सुरक्षामा कडाइ गर्दै कर्फ्यु आदेशजारीसँगै नारायणमन्दिरमा राजपरिवार छिर्ने गेटमा ‘भोटे ताल्चा’ लगाएको छ।

जेठ १० गते पूर्वराजा शाह नाति हृदयेन्द्रसहित नारायणहिटी दरबार परिसरस्थित नारायण मन्दिरमा प्रवेश गरेका थिए। राजपरिवारले प्रयोग गर्ने विशेष ढोका खोली पुजाका लागि गरिएको प्रवेशपछि सरकारले सो ढोका भोलिपल्टै दुबैतर्फबाट ‘भोटे ताल्चा’ लगाएको हो।

advertisement

पूर्वराजाको सक्रियताले सरकारको तर्फबाट गम्भीर प्रतिक्रिया आएको देखिन्छ। त्यसपछि सरकारले जेठ १६ गतेदेखि असार २४ गतेसम्म नारायणहिटी क्षेत्रमा ३९ दिन लामो कर्फ्यु आदेश जारी गरेको छ। विशेषतः जेठ १९ गते दरबार हत्याकाण्डको स्मृति दिवस तथा असार २३ गते पूर्वराजाको जन्मदिनमा सम्भावित कार्यक्रममा पूर्वराजाको उपस्थिति हुनसक्ने आँकलनपछि कर्फ्युको निर्णय गरिएको स्रोतले बताएको छ।

गत फागुन २५ गते पूर्वराजा पोखराबाट फर्किँदा त्रिभुवन विमानस्थलमा हजारौं समर्थक भेला भएको घटनाले समेत सरकारको चासो बढाएको थियो। सोही सन्दर्भमा, पूर्वराजा नारायणहिटीमा सहभागी हुने सम्भावित कार्यक्रममा ठूलो जनसहभागिता हुन सक्ने आंकलनसहित सरकारले निषेधाज्ञा जारी गरेको स्रोतको दावी छ।

नारायणहिटीको प्रवेशद्वारमा ताल्चा लगाइएको घटनाको स्थलगत रिपोर्टिङ गर्न पुगेका ग्लोबल नागरिकका पत्रकारलाई पनि सुरक्षाकर्मीले रोक लगाएका थिए। ‘माथिबाट आदेश आएको’ भन्दै फोटो वा भिडियो खिच्न निषेध गरिएको थियो।

केही दिन अगाडि मात्र उक्त ढोकामा ताल्चा लगाएको फोटो सार्वजनिक भएपछि त्यहाँ कार्यरत प्रहरी जवानहरु सुर्य बहादुर बोहोरा र सुबास बीसीको रातारात सरुवा समेत भएको थियो।

सरकारले अहिले मन्दिरका अन्य गेटहरूमा समेत ताल्चा लगाउने तयारी गरिरहेको स्रोतहरू बताउँछन्।

सत्तारूढ दलले राजावादी आन्दोलनलाई सामान्य ठान्दै आएको दाबी गरिरहँदा व्यवहारिक रूपमा सरकारले लिएको सुरक्षा सतर्कता भने निकै उच्च देखिएको छ।

प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com