काठमाडौं ।  राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले तीव्र आपत्ति जनाएका छन्। उनले थापालाई ससम्मान रिहा गर्न माग गर्दै, त्यसो नगरिए भोलिदेखि काठमाडौं उपत्यका बन्द गराउने चेतावनी दिएका छन्।

आज काठमाडौंमा आयोजित प्रदर्शनका क्रममा प्रहरीले कमल थापालाई पक्राउ गरेको थियो। त्यसपछिको एक सभालाई सम्बोधन गर्दै लिङ्देनले भने, “अब हामी देशभरका साथीहरूलाई बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरु हुन्छ।”

advertisement

उनले थपे, “अब हामी एउटै ठाउँमा भेला हुने छैनौं, ५० ठाउँबाट आन्दोलन सुरु हुनेछ। त्यसलाई कहाँ रोक्नुहुन्छ तपाईं?”

लिङ्देनले थापालाई तुरुन्तै र ससम्मान रिहा नगरे कडा आन्दोलन हुने बताए। “कमल थापालाई यहीँ ल्याएर फिर्ता नगरे भोलिबाट उपत्यका ठप्प पारिन्छ,” उनले चेतावनी दिए।

उनले आफूहरूको बाध्यता र आक्रोशलाई कमजोरी नसम्झन पनि सरकारलाई आग्रह गरे।

राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाको माग गर्दै राप्रपा, राप्रपा नेपाललगायतका राजावादी दलहरू जेठ १५ गतेदेखि काठमाडौंमा आन्दोलनरत छन्। उनीहरूले यो आन्दोलन निर्णायक बनाउने बताएका छन्।

आज नक्शाल र बालुवाटार क्षेत्रमा प्रदर्शन भएको थियो। निषेधित क्षेत्र तोड्न खोजिएको भन्दै प्रहरीले लाठीचार्ज गरेको थियो। बालुवाटारतर्फ अघि बढ्ने क्रममा कमल थापा सहित चार जना पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com