काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरूले भोलिदेखि आफ्ना सवारीसाधन थन्काएर सेवा बन्द गर्ने घोषणा गरेका छन्।
गण्डकी प्रदेश सरकारले नियमावली जारी गरी राइड सेयरिङ अन्तर्गत निजी सवारीसाधनलाई यात्रु ओसारपसारमा प्रयोग गर्न अनुमति दिएको भन्दै विरोधमा उत्रिएका व्यवसायीहरूले २०८२ साल जेठ १९ गतेदेखि गाडी सञ्चालन नगर्ने निर्णय गरेका हुन्।
सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै सेवा बन्दको घोषणा गरेका हुन्।
व्यवसायीहरू गण्डकी प्रदेश सरकारको उक्त निर्णय संविधानको धारा ५७ को उपधारा ६, उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २, दफा ८(२) र दफा १२(१) को उल्लङ्घन भएको बताउँदै आक्रोशित छन्।
विगतमा संघीय तथा प्रदेश सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै बाध्य भएर आन्दोलनको बाटो रोजिएको उनीहरूको भनाइ छ। विज्ञप्तिमा उल्लेख छ, “नेपाल सरकारले आजसम्म पनि हाम्रो मागलाई बेवास्ता गरेकाले हामी मिति २०८२/२/१९ गतेदेखि आफ्ना सवारीसाधन घर वा ग्यारेजमा थन्काउने निर्णयमा पुगेका छौं।”
उनीहरूले सेवा ठप्प हुँदा यात्रु तथा सरोकारवालाले भोग्नुपर्ने असुविधाको जिम्मेवारी सरकार आफैंले लिनुपर्ने स्पष्ट पारेका छन्।

प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार












प्रतिक्रिया