जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलासुस्ती भए ठेक्का तोडिने चेतावनी दिएका छन् ।
आइतबार जनकपुरधाममा मधेस प्रदेश सरकारअन्तर्गतको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजनाअन्तर्गत ६४ वटा सडकको एकैपटक विद्युतीय रूपमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मधेसका किसानहरू वर्षौंदेखि सिँचाइको पर्खाइमा रहेको उल्लेख गर्दै अब जमिन बाँझो राख्न नपर्ने वातावरण तयार पार्नुपर्ने बताए।
विकास निर्माणका काममा सुशासन अपरिहार्य रहेको उल्लेख गर्दै ढिलासुस्तीलाई भ्रष्टाचारभन्दा ठूलो अपराधको रूपमा व्याख्या गरे। प्रधानमन्त्री ओलीले अब कामहरू ढिलो र सुस्त गतिमा नभई, चाँडो र प्रभावकारी तरिकाले ‘रकेट गतिमा’ सम्पन्न हुनुपर्नेमा जोड दिए। ढिलाइले लागत बढाउने र जनताले समयमा सेवा नपाउने अवस्थाले समृद्धिको यात्रा अवरुद्ध हुने उनको भनाइ थियो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मातहतमा सञ्चालनमा रहेको राष्ट्रिय गौरवको यस परियोजनाअन्तर्गत सिन्धुलीको सुनकोशी नदीको पानीलाई बाग्मती नदीको सहायक मरिन नदीमा अन्तर–बेसिन स्थानान्तरण गरिनेछ। यो माध्यमबाट रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बाराका थप १ लाख २२ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पुर्याइनेछ।
परियोजना अन्तर्गत ३१.०७ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिनेछ, जसले औद्योगिक विकासमा सहयोग पुर्याउने विश्वास लिइएको छ। कुल लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको यस आयोजनाको हेडवर्क्स क्षेत्रमा गत वर्ष आएको बाढी र पहिरोका कारण केही समय निर्माण कार्य अवरुद्ध भएको थियो।
प्रधानमन्त्री ओलीले मधेस प्रदेशलाई ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण क्षेत्रको रूपमा उल्लेख गर्दै यस क्षेत्रको समुचित विकासका लागि केन्द्र सरकार दृढ रहेको बताए। जनकपुरको रेल सेवा घाटामुक्त बनाउन दक्ष जनशक्ति विकास गरिने जानकारी पनि दिए।
त्यसैगरी, चुरे क्षेत्रको संरक्षण, कृषि आधुनिकीकरण, युवामुखी कार्यक्रमहरू, शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधार, जनकपुर रंगशालाको निर्माण र ‘छोरी पढाऔँ’ अभियानजस्ता विषयहरूलाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिए।
अन्त्यमा प्रधानमन्त्री ओलीले सुशासन कायम गर्न सबै नागरिक र सरोकारवालाहरूले आ–आफ्नो भूमिकाबाट इमान्दार प्रयत्न गर्नुपर्ने भन्दै, राम्रा काम गर्नेहरूलाई प्रोत्साहन र गल्ती गर्नेहरूलाई कानुनी कारबाहीबाट नछुटाइने स्पष्ट पारे।
प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया