काठमाडौं । व्यवसायीहरूद्वारा आह्वान गरिएको आन्दोलनका कारण सार्वजनिक यातायात सेवा प्रभावित बनेको अवस्थामा यात्रुहरूलाई सहज यात्रा सुविधा दिन साझा यातायातले आफ्ना बसहरू सञ्चालनमा ल्याएको छ।

साझा यातायातले काठमाडौं उपत्यकाभित्र ४० वटा बस प्रहरीको सुरक्षा साथ सडकमा उतारेको हो। साझा यातायातका यातायात व्यवस्थापन अधिकृत शंकर बस्यालका अनुसार बिहान सुरक्षासँगको समन्वयमा प्रारम्भमा १५ वटा बस सञ्चालन गरिएको थियो भने दिउँसोदेखि थप बसहरू क्रमशः थपिएको छ।

advertisement

प्रत्येक बसमा दुई जना सशस्त्र प्रहरी परिचालन

बस्यालले यात्रु सुरक्षाका लागि प्रत्येक बसमा दुई जना हतियारसहितका सुरक्षाकर्मी खटाइएको जानकारी दिए। उनका अनुसार साझासँग हाल एक सय बस तयार अवस्थामा छन् र सबै बस सडकमा उतार्ने तयारी भइरहेको छ।

लामो दूरीको सेवा फिलहाल बन्द

पोखरा र कुश्मामा अज्ञात समूहबाट साझाका बसमा तोडफोड भएपछि हाल लामो दूरीका रुटमा बस नचालिएको बताइएको छ। तर, अवस्थाको मूल्याङ्कन गर्दै उपयुक्त समयमा ती रुटमा पनि सेवा सञ्चालन गरिने योजना साझाले बनाएको छ।

काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका साझा बसका रुटहरू

हाल साझाले पाँच वटा प्रमुख रुटमा सेवा सञ्चालन गरिरहेको छ। ती रुटहरू हुन्:

  • लगनखेल–गोंगबु बसपार्क
  • लगनखेल–बूढानीलकण्ठ
  • गोदावरी–रत्नपार्क
  • थानकोट–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
  • थानकोट–बूढानीलकण्ठ

यसअघि साझाले आठवटा रुटमा सेवा दिँदै आए पनि असुरक्षाको कारणले लामाटार–रत्नपार्क, लेले–जमल र बुङमती–जमल रुटहरू हालका लागि बन्द गरिएको छ। यद्यपि, प्रहरीसँग समन्वय गरेर ती रुटहरू पुनः सञ्चालनमा ल्याउने तयारी साझाले गरिरहेको छ।

बस्यालका अनुसार, “काठमाडौंमा १ सय वटा साझा बस सञ्चालन भएमा करिब ६ हजारभन्दा बढी यात्रुले प्रत्यक्ष लाभ लिन सक्छन्।”

प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com