काठमाडौँ । सार्वजनिक यातायात व्यवसायी र सरकारबीच दोश्रो चरणको वार्ता सुरु भएको छ। सोमबार बिहान गृह मन्त्रालयमा भएको वार्तामा गृहमन्त्री रमेश लेखक, मुख्य सचिव एकनारायण अर्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधि, तथा यातायात व्यवसायीहरू सहभागी छन्।

राइड सेयरिङ सम्बन्धी गण्डकी प्रदेश सरकारले ल्याएको नियमावलीको विरोधमा देशभर सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। गण्डकी प्रदेशमा चार दिनदेखि सार्वजनिक सवारी सञ्चालन ठप्प छ भने आजदेखि देशभर यातायात बन्द गरिएको छ।

advertisement

व्यवसायीहरूको माग सम्बोधन गर्न सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इञ्जिनियर कृष्णराज पन्थको नेतृत्वमा १० सदस्यीय वार्ता समिति गठन गरेको छ। अहिले सोही समितिका प्रतिनिधि र व्यवसायीहरूबीच सहमतिका लागि वार्ताको दोस्रो चरण चलिरहेको हो।

सहसचिव पन्थका अनुसार व्यवसायीहरूले उठाएका मागहरू धेरै जटिल नभएकाले संघीय सरकारबाट ‘सङ्घीय यातायात ऐन’ ल्याई राइड सेयरिङलाई व्यवस्थित गर्ने सहमति हुने अपेक्षा गरिएको छ।

वार्तामा यातायात व्यवस्था विभागका महानिर्देशक नरहरी तिवारीलगायत सरोकारवाला निकायका अधिकारीहरूको समेत उपस्थिति रहेको छ। सरकार र व्यवसायीबीच सकारात्मक छलफल भइरहेको जनाइएको छ।

प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com