काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था टिकाउन यसको कमजोरी सुधार गर्दै संविधान संशोधनको प्रक्रिया तत्काल अघि बढाउनुपर्ने धारणा राखेका छन्।

मंगलबार बाँकेको नेपालगञ्जमा आयोजित नेपाली कांग्रेसको क्षेत्रीय सम्मेलनमा बोल्दै महामन्त्री थापाले कांग्रेस र नेकपा (एमाले) बीच भएको सात बुँदे सहमति कार्यान्वयन गर्न ढिलाइ हुनु दुःखद भएको बताए। उनले भने, “गत वर्ष असार १७ गते कांग्रेस र एमालेबीच संविधान संशोधनसहित सात बुँदे सहमति भएको थियो। तर, आजसम्म त्यसअनुसारको कुनै ठोस पहल भएको छैन।”

advertisement

थापाले वर्तमान सरकारको ध्यान संविधान संशोधनजस्तो महत्वपूर्ण विषयबाट विचलित भएको उल्लेख गरे। “हामीले सरकार चलाउने क्रममा मूल बाचा नै बिर्सियौं,” उनले भने, “संविधान संशोधन गर्ने प्रतिबद्धता जनाइएको भए पनि त्यसतर्फको जिम्मेवारी लिन हामी चुकिरहेका छौं।”

महामन्त्री थापाले अहिलेको अन्योलताबाट बाहिर निस्किएर सहमतिको spirit अनुसार संविधान संशोधनको विषयमा गम्भीर छलफल थाल्नुपर्नेमा जोड दिए। “संविधान संशोधन प्रक्रिया तत्काल प्रारम्भ गर्नुपर्छ,” उनले भने, “हामी नागरिकसमक्ष स्पष्ट रूपमा भन्न सक्नुपर्छ — यो व्यवस्था हामीले ल्याएका हौं, यसलाई सुधार्दै टिकाउँछौं।”

उनको भनाइमा, वर्तमान व्यवस्थामा देखिएका संरचनात्मक तथा कार्यान्वयन सम्बन्धी कमजोरीको समाधान संविधान संशोधनबाटै सम्भव छ। “व्यवस्थाको सुधार भनेको संविधानको सुधार हो,” उनले स्पष्ट पारे।

थापाले सबै राजनीतिक दलहरू, विशेषगरी कांग्रेस र एमाले, सहमतिका बुँदाहरू कार्यान्वयन गर्न प्रतिबद्ध हुनुपर्ने बताए। संविधानको संशोधनमार्फत जनतामा आशा जगाउने र राजनीतिक स्थायित्व कायम गर्ने प्रयास गर्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com