काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको नाम जोडिएपछि उनले नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेकी हुन्।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद कार्कीले गम्भीर प्रकृतिको मानव तस्करी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता विषयमा गृहमन्त्रीको संलग्नता रहेको आरोप सार्वजनिक रूपमा आएकाले कम्तीमा १५ दिनका लागि पदबाट अलग भई छानबिनमा सहजीकरण गर्नुपर्ने धारणा राखिन्।

advertisement

उनले भनिन्, “हामीले माननीय गृहमन्त्री रमेश लेखकलाई सुसंस्कृत र आदर्श राजनीतिक व्यक्तित्वका रूपमा चिन्दै आएका छौँ। तर अहिले भिजिट भिसा प्रकरणमार्फत मानव तस्करी र संगठित अपराधका गम्भीर आरोप सार्वजनिक भइरहेका छन्। यस्तो अवस्थामा मन्त्रीज्यूले स्वेच्छाले राजीनामा दिएर नैतिक उचाइ प्रदर्शन गर्नुपर्छ।”

सांसद कार्कीले गृहमन्त्रीलाई दोषी ठहर गर्ने उद्देश्य नरहेको स्पष्ट पार्दै भनिन्, “मैले मन्त्रीज्यू दोषी भन्न खोजेको होइन, तर यस्तो अवस्थामा राजनीतिक मर्यादाका लागि स्वाभिमानी र जिम्मेवार नेताले स्वतः निर्णय गर्नुपर्छ। यदि उहाँ निर्दोष हो भने छानबिनपछि पुनः जिम्मेवारीमा फर्किन कुनै बाधा हुँदैन।”

उनले मन्त्री लेखकले केही दिनअघि संसदमा उर्दु शायरी पढेको प्रसंग पनि उल्लेख गर्दै गम्भीर अपराधको सन्दर्भमा उर्दु शायरी होइन, जवाफदेही अपेक्षित रहेको बताइन्।

सांसद कार्कीले सरकारलाई कार्यशैलीमा सुधार ल्याउन आग्रह गर्दै निष्पक्ष र प्रभावकारी अनुसन्धानको वातावरण बनाउनुपर्नेमा पनि जोड दिइन्।

प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com