काठमाडौं । काठमाडौंको सिफल चौर क्षेत्रमा भइरहेका राजावादीहरुको आन्दोलनका कारण पठनपाठनमा असर परिरहेको भन्दै श्री बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयले आन्दोलन स्थल परिवर्तन गर्न सरकारसँग माग गरेको छ।
विद्यालयका निमित्त प्रधानाध्यापक रामप्रसाद ढुंगानाले प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालय र काठमाडौं महानगरपालिका शिक्षा विभागलाई पत्र पठाउँदै विद्यालय अगाडि भइरहेको विरोध, नाराबाजी र भिडभाडले पठनपाठनमा गम्भीर असर पारेको र सुरक्षा जोखिमसमेत बढाएको जनाएका छन्।
उनले लेखेको पत्रमा भनिएको छ, “हाम्रो विद्यालय सामुदायिक शिक्षालय हो, जहाँ विभिन्न समुदाय, वर्ग र पृष्ठभूमिका विद्यार्थीहरू अध्ययनरत छन्। यस्तो संवेदनशील परिवेशमा आन्दोलनका कारण सिर्जित चर्काचर्की नाराजुलुस, भीड र आवाजले कक्षा सञ्चालनमा अवरोध पुगेको छ। विद्यालय शान्तिक्षेत्र हो भन्ने कुरालाई ध्यानमा राखी विद्यार्थीहरूको शिक्षामा अवरोध नपुग्ने गरी तुरुन्तै आन्दोलन स्थल अन्यत्र सार्न हार्दिक अनुरोध गर्दछु।”
राजावादीहरुले पछिल्लो समय काठमाडौंमा पुनः सक्रिय आन्दोलन चालेका छन्। सरकारले उनीहरुलाई कोटेश्वर–बालकुमारी क्षेत्र, बल्खु र सिफल चौरमा मात्र प्रदर्शन गर्न अनुमति दिएको छ। यी स्थान बाहेक काठमाडौं उपत्यकामा आगामी दुई महिनाका लागि निषेधाज्ञा जारी गरिएको छ।
विद्यालय प्रशासनले आन्दोलनको शान्तिपूर्ण अभ्यासको अधिकारप्रति सम्मान जनाउँदै शैक्षिक गतिविधिमा असर नपर्ने उपाय अपनाउन सरोकारवाला निकायलाई आग्रह गरेको छ।
प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया