काठमाडौं । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको अपहरण तथा हत्या सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सम्पन्न भएको छ। संवैधानिक इजलासमा लामो समयदेखि “हेर्दा हेर्दैमा” रहेकाे यो मुद्दा आज अन्ततः निष्कर्षमा पुगेको हो।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडाल रहेको संवैधानिक इजलासमा आज अन्तिम सुनुवाइ सम्पन्न भएको हो। सम्भवतः आजै आदेश पनि आउने अपेक्षा गरिएको छ।
सापकोटाविरुद्ध द्वन्द्वकालको समयको एक गम्भीर आरोप छ—काभ्रेका अर्जुन लामालाई अपहरणपछि हत्या गरेको आरोपमा उनीमाथि तीनवटा छुट्टाछुट्टै रिट दर्ता भएका छन्। अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेल तथा पत्रकार कनकमणि दीक्षितले सापकोटाविरुद्ध २०६८ सालमा पहिलो रिट दायर गरेका थिए। उनीहरूले सापकोटालाई सभामुख तथा मन्त्री नियुक्त गर्ने निर्णयको विरोध गरेका थिए।
पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते अदालतमा दोस्रो रिट दायर गर्दै आफ्ना पतिको हत्या मुद्दा तत्काल अघि बढाउन माग गरेकी थिइन्। यस्तै, पत्रकार कनकमणि दीक्षितले सापकोटाको भूमिकामाथि प्रश्न उठाएका थिए भने सापकोटाले तिनकै विरुद्ध अदालतको अवहेलनाको मुद्दा दायर गरेका थिए।
सापकोटा पक्षले भने यो विषय द्वन्द्वकालीन भएको र त्यसैले सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत समाधान खोजिनुपर्ने जिकिर गर्दै आएका छन्। तर, यसबारे अदालतको अन्तिम आदेशले अब स्पष्ट दिशा दिनेछ।
स्मरण रहोस्, अर्जुन लामाको अपहरणपछि हत्या भएको घटनामा सापकोटालाई प्रमुख दोषी मान्दै पीडित पक्षले २०६८ असार ६ गते सर्वोच्च अदालतमा पहिलोपटक रिट दर्ता गरेका थिए। प्रारम्भिक सुनुवाइपछि तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो।
आजको सुनुवाइसँगै लामो समयदेखि निर्णयविहीन रहेको यो मुद्दा निष्कर्षतर्फ उन्मुख भएको छ। अदालतको आदेशले अब द्वन्द्वकालका गम्भीर घटनाका लागि कानुनी र नैतिक मापदण्ड कस्तो हुने भन्ने सन्देश पनि दिन सक्नेछ।
प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार













प्रतिक्रिया