काठमाडौं । राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित आन्दोलन गर्दै आएको ‘राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’को समीक्षा बैठक अध्यक्ष राजेन्द्र लिङ्देनको अनुपस्थितिमा अस्तव्यस्त बनेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षसमेत रहेका लिङ्देन बैठकमा सहभागी नहुँदा बैठकमा उपस्थित कार्यकर्ताहरू आक्रोशित बनेका थिए। उनीहरूले आन्दोलनको उद्देश्य र नेतृत्वप्रति प्रश्न उठाउँदै भनिरहेका थिए, “यदि संसद् नै चाहिने हो भने आन्दोलनको के अर्थ रह्यो?”
बैठकमा कार्यकर्ताहरूबीच चर्काचर्की भएपछि कुनै ठोस कार्यक्रम तय नगरी बैठक स्थगित गरिएको छ। समितिका केही सदस्यहरू लिङ्देनको पछिल्लो अभिव्यक्तिहरूले आन्दोलनको मर्म र दिशा गुमेको दाबी गर्दै छन्। लिङ्देन पछिल्लो समय संसद् रोज्ने अभिव्यक्तिहरू दिँदै आएका छन्, जसप्रति आन्दोलनकारी कार्यकर्ताहरू असन्तुष्ट छन्।
स्रोतका अनुसार बैठकमा नयाँ आन्दोलन कार्यक्रम तय गर्ने तयारी थियो, तर आन्तरिक असहमति र नेताको अनुपस्थितिका कारण कार्यसूची अगाडि बढ्न सकेन।
यस घटनाले राजसंस्था पुनर्स्थापना अभियानभित्रको नेतृत्व संकट र रणनीतिक अन्योल झनै स्पष्ट पारेको छ।
प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार













प्रतिक्रिया