काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा अनावश्यक गालीगलौज गर्ने प्रवृत्ति पारिवारिक तनाव र व्यक्तिगत असन्तुष्टिको परिणाम भएको बताएका छन्।
आईडिया स्टुडियोद्वारा काठमाडौंमा आयोजित नवप्रवर्तक युवासँग प्रधानमन्त्री शीर्षकको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले युवाहरूलाई सकारात्मक सोच र उद्यमशील मार्ग रोज्न आग्रह गरे।
“फेसबुकजस्ता सामाजिक सञ्जालमा जसरी पनि मुख छाड्ने धेरै व्यक्तिको पारिवारिक अवस्था तनावपूर्ण देखिन्छ,” प्रधानमन्त्री ओलीले भने, “उनीहरूको घरभित्रको अवस्था हेर्ने हो भने टेन्सन हुन्छ।”
उनले सामाजिक सञ्जालमा गाली गरेर हिँड्ने बानीलाई खराब अभ्यासको संज्ञा दिंदै, त्यसले न व्यक्ति, न परिवार, न समाज—कसैलाई पनि फाइदा नपुग्ने स्पष्ट पारे। “यस्तो व्यवहारले मानसिक स्वास्थ्य बिगार्छ, पारिवारिक सम्बन्धमा असर पुर्याउँछ र सामाजिक सौहार्द पनि कमजोर बनाउँछ,” उनले भने।
युवाहरूले असन्तुष्टि व्यक्त गर्ने तर आफैंले केही नगर्ने प्रवृत्तिबाट बाहिरिनु पर्नेमा जोड दिंदै प्रधानमन्त्रीले भने, “परिवर्तनको चाहना छ भने सकारात्मक सोच र कर्ममा लाग्नुपर्छ, न कि केवल गुनासो र गालीमै सीमित रहनु।”
युवाहरूलाई काममा घमण्ड नगरी गर्व गर्ने सुझाव दिंदै उनले भने, “केही काम गर्नुभयो भने त्यसप्रति गर्व गर्नुहोस्, तर अहंकार होइन।”
रोजगारी समस्या समाधानका लागि प्रधानमन्त्री ओलीले उद्यमशीलतालाई मात्र एक मात्र दीगो विकल्पको रूपमा प्रस्तुत गरे। “सरकारी जागिर त सीमित १ प्रतिशतले मात्र पाउने हो,” उनले स्पष्ट पारे, “हरेक वर्ष पाँच लाखजति युवा श्रम बजारमा प्रवेश गर्छन्, ती सबैलाई राज्यले जागिर दिन सक्दैन। त्यसैले निजी क्षेत्र र स्व–रोजगारीलाई प्रोत्साहन गर्नुपर्छ।”
उनले जोड दिए, “उद्यमशीलता विकास नगरी देशमा रोजगारी समस्या समाधान हुँदैन। त्यसैले युवा पुस्ताले स्वरोजगार र सृजनात्मक उद्यमतर्फ अग्रसर हुनुपर्छ।”
प्रधानमन्त्रीको सन्देश स्पष्ट छ—नकारात्मकता होइन, रचनात्मक सोच र कर्ममार्फत् युवाले देश निर्माणमा हातेमालो गर्नुपर्छ।
प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार













प्रतिक्रिया