सुर्खेत । जाजरकोट जिल्लाको नलगाड नगरपालिका–८ स्थित भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ भने एक जना अझै पनि बेपत्तै छन्।
जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त शर्माका अनुसार, १५ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको शव भेरी नदीमै फेला परेको हो। उनीहरू शुक्रबार दिउँसो करिब २ बजे भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका थिए।
बेपत्ता भएकामध्ये १२ वर्षीया आशा कुसारीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। आशा र महेश दिदी–भाइ हुन्। उनीहरू नदीमा नुहाउने क्रममा गहिरो पानीमा फसेर बेपत्ता भएका थिए।
डीएसपी शर्माका अनुसार, उद्धार र खोजी कार्यका लागि जाजरकोटतर्फको छवटा स्थानमा प्रहरी टोली परिचालन गरिएको छ। स्थानीयवासी र सुरक्षाकर्मीको सहकार्यमा बेपत्ता आशाको खोजी भइरहेको छ।
शोकाकुल परिवार र स्थानीय समुदायमा यो घटनाले गहिरो पीडा छोएको छ।
प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया