धरान । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयता कांग्रेसकै मौलिक विचार भएको उल्लेख गर्दै नेता तथा कार्यकर्तालाई विचलित नहुन र यसको विकल्प नखोज्न आग्रह गरेका छन्।
शुक्रबार धरानमा सम्पन्न नेपाल लोकतन्त्रवादी आदिवासी याक्थुङ संघको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले पछिल्लो समय संघीयता र गणतन्त्रविरुद्ध भ्रामक प्रचार भइरहेको जनाउँदै त्यसका विरुद्ध स्पष्ट सन्देश दिन नेतृत्व तहबाटै आवश्यक रहेको बताए।
‘संघीयता नेपाली कांग्रेसकै मूल विचार हो,’ उनले भने, ‘अन्य पार्टीभन्दा पहिला कांग्रेस नै संघीयता र विकेन्द्रीकरणको पक्षमा स्पष्ट रुपमा उभिएको थियो। आज कांग्रेसकै केही नेता भ्रममा परी संघीयता विरोधी अभिव्यक्ति दिनु दुःखद छ।’
थापाले गणतन्त्र कुनै केवल शासन प्रणाली नभई एउटा संस्कार हो भन्ने कुरामा जोड दिए। उनले भने, ‘गणतन्त्र हाम्रो सामाजिक सहिष्णुता र विविधता प्रतिको सम्मानको मूलाधार हो। यसले धर्म, जात, वर्गका आधारमा विभेद नगरी सबैलाई समान अधिकार र सम्मान दिन्छ।’
उनले नेताहरूले सार्वजनिक मञ्चमा बोलेका कुरा व्यक्तिगत जीवनमा पनि व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै भने, ‘महिला, दलित, जनजाति वा अन्य समुदायबारे मञ्चमा देखाइएको सम्मान भाव गोप्य कोठामा पनि देखिनुपर्छ, यही हो साँचो गणतन्त्र।’
महाधिवेशनलाई कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दङ्वे, केन्द्रीय सदस्यहरू राजीव ढुंगाना, नैनसिंह महरा तथा संघीय सांसद सीता गुरुङलगायतले पनि सम्बोधन गरेका थिए।
थापाले गणतन्त्र र संघीयतालाई कमजोर पार्ने हर्कतविरुद्ध सचेत रहनु कांग्रेस कार्यकर्ताको जिम्मेवारी भएको स्मरण गराउँदै लोकतान्त्रिक मूल्य र विश्वासको रक्षा गर्न सबैलाई आह्वान गरेका थिए।
प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया