काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राज्यका नीतिका कारण अनौपचारिक अर्थतन्त्र झनै सशक्त बन्दै गएको बताएका छन्।

नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बजेट विमर्श कार्यक्रममा बोल्दै पोखरेलले अनौपचारिक अर्थतन्त्रको वर्चस्वले देशको आर्थिक तथा सामाजिक विकास असन्तुलित बनाएको दाबी गरे।

advertisement

उनका अनुसार राज्यका कतिपय नीतिहरूले नै अनौपचारिक अर्थतन्त्रलाई प्रोत्साहन दिँदै आएका छन् र हालसम्म पनि ती नीतिमा पर्याप्त सुधार हुन सकेको छैन। उनले कोभिडपछिको अवस्थालाई उल्लेख गर्दै घरजग्गा कारोबार, सहकारी तथा लघुवित्त क्षेत्र प्रत्यक्ष प्रभावित भएको बताए।

घरजग्गा बजारमा आएको मन्दीले विकास निर्माणको गति समेत प्रभावित पारेको उल्लेख गर्दै महासचिव पोखरेलले औपचारिक अर्थतन्त्रको तुलनामा अनौपचारिक क्षेत्र बलियो बनेकोप्रति चिन्ता व्यक्त गरे।

साथै, उनले पछिल्लो समय समाजमा गणतन्त्रप्रति निराशा जनाउने धारणा फैलिएको उल्लेख गर्दै पूर्वपञ्च र राजावादीहरूले लोकतन्त्र र गणतन्त्रले केही नदिएको भनी भ्रमपूर्ण प्रचार गरिरहेको टिप्पणी गरे।

उनले भने, “अहिले राजनीतिक दल र तिनका नेतृत्वप्रति प्रभावकारिताको प्रश्न उठिरहेको छ। कतिपयले त पञ्चायत नै राम्रो थियो भन्न थालेका छन्। तर पञ्चायतकालको अन्त्यतर्फको सामाजिक तथा आर्थिक सूचकहरूलाई आधार बनाएर हेर्ने हो भने आजको नेपालले उल्लेखनीय प्रगति गरिसकेको छ।”

महासचिव पोखरेलका अनुसार यद्यपि अन्तर्राष्ट्रिय अर्थव्यवस्थाको गतिमा तुलनात्मक रूपमा नेपालको अर्थतन्त्रले त्यो स्तरको विकास गर्न नसकेको स्वीकार गर्नुपर्छ।

उनले निष्कर्षमा भने, “राज्यको नीतिका कमजोरीका कारण अनौपचारिक अर्थतन्त्र मौलाउँदै गएको छ। जसले हाम्रो सामाजिक र आर्थिक विकासलाई असन्तुलित बनाइरहेको छ। अबको चुनौती भनेको विश्व परिवेश र आम जनताको आवश्यकता अनुसार अर्थतन्त्रको गति बढाउनु हो।”

प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com