काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीविरुद्ध योजनाबद्ध र भयावह ढंगले हमला भइरहेको आरोप लगाएका छन्।
ओखलढुङ्गा लिखु–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिका कारण मात्रै विरोध नआएको स्पष्ट पारे।
उनले भने, “केही व्यक्तिले ओलीजीले बोल्ने शैलीको कारण विरोध बढेको भन्ने भ्रम फैलाइरहेका छन्। हाम्रा केही भलाद्मी साथीहरूलाई पनि त्यही कुरा सत्यजस्तो लाग्न थालेको छ। तर म पूर्ण जिम्मेवारीका साथ भन्न चाहन्छु—विरोधको कारण भाषाशैली होइन, बरु हाम्रो विचार, नीति र अडान नै विरोधको मूल कारण हो।”
वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपाली कांग्रेस र माओवादी केन्द्रले राष्ट्रियताका सवालमा एमालेजस्तो स्पष्ट र दृढ अडान लिन नसक्ने दाबी गरे।
उनले भने, “एमाले सधैं राष्ट्रियताको पक्षमा अडिग रहने पार्टी हो। केही विदेशी शक्ति र तिनका दलालहरूले नेपाललाई कमजोर बनाउने प्रयास गरिरहेका छन्, र उनीहरूकै निर्देशनमा अहिले एमालेमाथि हमला भइरहेको छ। हामी न त छिमेकीसँग मुख चलाउने पक्षमा छौं, न त घुँडा टेक्ने पक्षमा। तर, जब कुरा राष्ट्रिय हितको आउँछ, तब छिमेकीसँग आँखा मिलाएर साहसका साथ उभिनुपर्ने शक्ति भनेको एमाले नै हो।”
प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया