काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यालयहरूले सीपसहितको सक्षम जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताएका छन् । रत्नराज्य माध्यमिक विद्यालय, नयाँ बानेश्वर काठमाडौँ ६४ ओैँ वार्षिकोत्सव तथा सम्मान, प्रमाणपत्र र पुरस्कार वितरण समारोहमा बोल्दै उनले अहिले शैक्षिक बेरोजगारको सङ्ख्या धेरै भएकोमा चिन्ता व्यक्त गर्दै अब सीपसहितको शिक्षा हुनुपर्ने धारणा राखे।

विद्यालयबाट शैक्षिक बेरोजगार उत्पादन गर्ने क्रम रोक्नुपर्नेमा जोड दिँदै सिंहले भने, ‘शैक्षिक प्रमाणपत्रसँगै सीपको प्रमाणपत्र दिएर विद्यार्थीले चाहेको लक्ष्यमा पुग्न सक्ने सक्षम बनाउनेतर्फ अब विद्यालयहरूले ध्यान दिनुपर्छ ।’

advertisement

आफ्नै निर्वाचन क्षेत्र काठमाडौँ १ मा पर्ने यस विद्यालयको भौतिक विकासमा जनप्रतिनिधिका रूपमा आफूसहितका जनप्रतिनिधिले भूमिका खेलेको स्मरण गरे। उनले विद्यालयले ६४ वर्षको इतिहासमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताए ।

त्यस्तै उपप्रधानमन्त्री सिंहले असल जनप्रतिनिधि छाने राम्रो काम हुन्छ भन्ने उदाहरण काठमाडौँ १ भएको पनि बताए । ०६४ अघि र अहिलेको अवस्था तुलना गर्न आग्रह गर्दै क्षेत्रमा विकासले गति लिएको दाबी गरे ।

‘झन्डा फर्फराउन । सांसद हुन जनप्रतिनिधि बनेका होइनौँ । देश र समाजको, देशको, जनताको सेवा गर्न राजनीतिमा लागेका हौँ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘त्यसैले जनप्रतिनिधिले आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी र अन्य पूर्वाधार विकाससँगै कुनै समस्या परेको बेलामा समाधानका लागि पहल गर्नुपर्छ ।’

उनले कमजोरीको गीत गाएर मात्रै नहुने भन्दै कमजोरी औँल्याउने र भएका काम भयो पनि भन्नुपर्ने बताए । अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कसैको दयामायामा प्राप्त नभएको भन्दै प्राप्त उपलब्धिलाई जनता र सरकार मिलेर संस्थागत गर्नुपर्ने बताए ।

उनले अहिले सरकारले नागरिकको जीवन र जीविका सहज होस् भन्ने चाहना पूरा गर्नका लागि प्रयास गरिरहेको दाबी गरे।

प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com