काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहाल फेरि पनि आफ्नो पुरानो कुर्सीमा फर्किएपछि बजार अनुगमनमा नयाँ गति आएको छ। उनका कठोर र निडर कार्यशैलीले ठूला व्यवसायी र कालाबजारी गर्ने उद्योगीहरूमा त्रास फैलिएको छ। पहिले चाडपर्वजस्ता विशेष अवसरमा मात्रै सुनिने र देखिने विभाग अहिले दैनिकजसो सक्रिय बनेको छ।

सामान्यतया विभागले बजेट अभाव देखाउँदै बजार अनुगमन नगर्ने गुनासो गरिन्थ्यो। तर दाहाल आएपछि अवस्था परिवर्तन भएको छ। उनले विद्यालय, अस्पताल, होटल, उद्योग, र खुद्रा पसलसम्म पुगेर निरीक्षण गर्ने अभियानलाई तिब्रता दिइरहेका छन्। अनुगमनसँगै अवैध क्रियाकलापमा संलग्नहरूमाथि कारबाहीको कठोर अभ्याससमेत देखिएको छ।

advertisement

दाहाल ८ वर्षपछि विभागको नेतृत्वमा दोहोरिएर फर्किएका हुन्। यसअघि उपसचिवबाट सहसचिवमा पदोन्नति हुँदा पहिलो पोस्टिङ यही विभागमा पाएका थिए। वैदेशिक रोजगार, यातायात, राष्ट्रिय सूचना आयोग, नेपाल ट्रष्टजस्ता ठाउँ हुँदै फेरि अहिले उनी विभागको नेतृत्वमा फर्किएका छन्।

दाहालले कसैले आँट गर्न नसकेका तस्करी र कालोबजारीयाका बादसाह भनेर चिनिने कमलकिशोर मालपानीको श्रीराम टोबाको कम्पनी र त्यसबाट गुट्खा बिक्री गर्ने पशुपति इन्टरनेशनल बिजनेस प्रालिमा छापा हानी सिलबन्दी गर्ने साहस देखाएका छन्। यो कम्पनी करोडौं राजस्व छलिमा मुछिएको छ। मालपानी समुहको राजस्व छलीको मुद्दा हाल सर्वोच्च अदालतमा चलिरहेको छ।

दाहालको पुनरागमनसँगै बजार अनुगमन थप कडा बनेको छ। हालै मात्रै उनले ३ वटा उद्योग तथा फर्मलाई जरिवाना तिराएका छन्। तीमध्ये ह्याम्स अस्पतालसँग सम्बन्धित भण्डारी सर्जिकल हाउसले सर्जिकल उपकरणमा रिलेबलिङ गरी मूल्य, गुणस्तर र परिमाणमा हेरफेर गरेपछि जरिवाना तिराएको हो। यो कारबाही उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) र दफा ३९ (१)(ख) अनुसार गरिएको हो।

त्यस्तै, एभरग्रीन होम डेकोर, नरेफाँटस्थित जिरे खुर्सानी रेस्ट्रोलाई पनि विभागले जरिवाना तिराएको छ। विभागले यसबाहेक रोजवर्ड स्कुल, पाठशाला, बृहस्पति विद्यासदन र राई स्कुललाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ।

यसअघि पनि दाहालकै नेतृत्वमा प्रिमियर इन्टरनेशनल, जेम्स र मोर्डन स्कुलमा छापा मारिएको थियो। महानिर्देशक दाहाल पछिल्लो समय ठगी, कम तौलको सामग्री विक्रीजस्ता उपभोक्ता ठग्ने क्रियाकलापविरुद्ध सशक्त रूपमा उत्रिएका छन्।

यसरी, बजारमा अनुशासन कायम गर्न कठोर र निडर शैली अपनाइरहेका कुमार दाहाल अहिले कालोबजारीयाहरूको लागि टाउको दुखाइ बनेका छन्। उनका कदमहरूले उपभोक्ता हितको संरक्षण त गरिरहेको छ नै, कालोबजारीको जरा समेत समात्न थालिएको छ।

प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com