मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरीमा मेडिकल कलेज स्थापना गर्ने प्रयासमा सरकार पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन्। मोरङको कटहरीस्थित जीवन विकास समाजले स्थापना गरेको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन प्रालिको उद्घाटन समारोहमा बोल्दै उनले सो प्रतिबद्धता जनाएका हुन्।
प्रधानमन्त्री ओलीले कार्यक्रममा भने, “जीवन विकासले मेडिकल कलेज खोल्ने अभिप्राय राखेको देखिन्छ। सरकारबाट सम्भव हुने सबै प्रकारको सहयोग गर्न हामी तत्पर छौं।”
उनले रोजगारको परिभाषा केवल जागिरमा सीमित नरहेको उल्लेख गर्दै उद्यमशीलता नै रोजगार सिर्जनाको मूल स्रोत भएको स्पष्ट पारे। “म खाली कुरा गरेर होइन, काम गरेर मात्र उद्यमशीलता विकास हुन्छ,” ओलीले भने, “यही बाटोबाट मात्रै स्थायी रोजगारीका अवसरहरू सिर्जना हुन्छन्।”
ओलीले मुलुकको विकास बाह्य आश्रितताबाट नभई आफ्नै प्रयासबाट मात्र सम्भव हुने उल्लेख गरे। “अरू कसैले आएर हाम्रो देश बनाइदिँदैन,” उनले भने, “देशको कमजोरी, गरिबी, अभाव र अशिक्षाको अन्त्य केवल काम र निरन्तर प्रयासबाट मात्र सम्भव छ, केवल इच्छा या कामना गरेर होइन।”
उनले जीवन विकास समाजले सञ्चालन गरेको स्वास्थ्य र प्राविधिक शिक्षासम्बन्धी प्रयास सराहनीय रहेको भन्दै स्थानीय स्तरमै यस्ता विकास पहलहरूबाट देश समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया