काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीबारे सत्यतथ्य सार्वजनिक गर्न छानबिन समिति आवश्यक रहेको बताएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले गृहमन्त्री मात्र होइन, विगतका गृहमन्त्री, सचिवदेखि अध्यागमन अधिकारीहरू पनि दोषी छन् भने उनीहरूलाई कानुनी दायरामा ल्याइनु पर्ने बताए।

नेता शाहीले भने, “हामीले यो विषयमा सत्य बाहिर ल्याउन छानबिन समिति गठन गर्नुपर्छ भनेका छौँ। यो केवल वर्तमान गृहमन्त्रीको कुरा होइन, विगतका गृहमन्त्रीहरू, सचिवहरू, अध्यागमनमा कार्यरत अधिकारीहरू समेत दोषी हुन सक्छन्। मानव तस्करीमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याइनुपर्छ।”

advertisement

उनका अनुसार भिजिट भिसाको नाममा अवैध रूपमा विदेश जाने नेपालीहरू ठगिएका छन्, घरेलु हिंसाको सिकार भएका छन् र उनीहरूको पासपोर्ट खोसिएको छ। उनले सरकारसँग नेपाली नागरिक कुन देशमा कति छन् भन्ने तथ्याङ्क समेत नभएको बताए।

“अवैध बाटोबाट गएका नेपालीहरू ठूलो पीडामा छन्,” शाहीले भने, “नेपाल फर्कने अवस्था छैन। उनीहरूको उद्धार (रेस्क्यु) गर्न राज्यले पहल गर्नुपर्छ।”

शाहीले भिजिट भिसा प्रकरण अहिले मात्रै सार्वजनिक भएको भए पनि यस्ता गतिविधिहरू पहिलेदेखि नै भइरहेको हुनसक्ने आशंका व्यक्त गरे।

साक्षात्कारमा उनले वर्तमान सरकार ‘गलत नियत’को आधारमा बनेको आरोप पनि लगाए। “यो सरकार जनताको हितका लागि होइन, विगतमा भएका अपराधलाई ढाकछोप गर्न गठन गरिएको हो,” उनले भने, “भुटानी शरणार्थी काण्ड, गिरिबन्धु टी-स्टेटको जग्गा निजीकरणजस्ता विषयमा अनुसन्धान किन रोकियो? ती फाइलहरू किन तामेलीमा परे?”

नेता शाहीले देशको अर्थतन्त्र गम्भीर संकटमा परेको उल्लेख गर्दै वैदेशिक रोजगारीका लागि एयरपोर्टमा देखिएको भीडलाई उदाहरणका रूपमा प्रस्तुत गरे। उनले सरकार जनताको रोजगारी, विकास र सेवामा असफल भएको आरोप लगाए।

“यो सरकारले कति रोजगारी सिर्जना गर्‍यो? त्यसको तथ्यांक देखाउन सक्छ?” उनले प्रश्न गरे, “जनताले विकास खोजेका छन्, तर विकास देखिएको छैन।”

कार्यक्रममा उनले माओवादी केन्द्र तत्काल एमालेसँग सहकार्य गरेर सरकारमा नजाने स्पष्ट पारे। “एमाले र माओवादीबिच गठबन्धन हुने सम्भावना शून्य छ,” उनले भने, “हाम्रो पार्टी सरकारमा जान चाहँदैन, हामी जनतामाझ जान चाहन्छौं।”

शाहीले आफुहरू आरोपको लागि आरोप लगाउने प्रवृत्तिमा नरहेको उल्लेख गर्दै प्रतिपक्षी दलको जिम्मेवारी निर्वाह गरिरहेको बताए।

प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com