काठमाडौं । सहरी विकास मन्त्रालयमार्फत नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दललाई ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको विषयमा नेकपा एमालेका नेता महेश बस्नेतले कडा आपत्ति जनाएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता बस्नेतले यस्तो कदमले शासन प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको टिप्पणी गरेका छन्। उनले सहरी विकास मन्त्री प्रकाशमान सिंहको निर्णयले सरकारको नैतिकता नै धरापमा परेको बताएका छन्।
“सहरी विकास मन्त्रालयमार्फत नेपाली कांग्रेसको भातृ संगठन तरुण दललाई ३ करोड रुपैयाँ बजेट छुट्याइएको छ। जनताको पसिना बगाएर उठाइएको कर राज्यकोषमा जम्मा गरेर यसरी खुल्लमखुल्ला दलगत लाभका लागि खर्चिने हो भने शासन प्रणाली नै प्रश्नचिन्हमा पर्छ,” बस्नेतले लेखेका छन्।
बस्नेतले मन्त्री सिंहप्रति कटाक्ष गर्दै भनेका छन्, “वीर गणेशमान सिंहको छोरा, लोकतान्त्रिक आन्दोलनमा योगदान पु¥याएको पृष्ठभूमि, ऐतिहासिक नाम र थर बोक्ने व्यक्तिले यति सस्तोमा आफ्नो आदर्श किन साट्ने ? यो तपाईंको इज्जतको विषय होइन र, दाजु ?”
उनले थप लेखेका छन्, “शासकीय मर्यादाको यस्तो गम्भीर उल्लंघनले तरुण दललाई होइन, सरकारकै नैतिक धरातललाई कमजोर बनाउँछ। सत्ता सस्तो नबनाउनुहोस् दाजु, तपाईंप्रतिको हाम्रो सम्मान जोगिएर रहोस्।”
यस प्रकरणले सरकारभित्रको नैतिक मूल्य र आचरणमाथि पुनः बहस जन्माएको छ।
प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया